कर्मचारीको सेवानिवृत्त उमेर बढाउनुपर्ने बाध्यतामा युरोपेली देश

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण
  • अर्थतन्त्रमाथि राजनीति हाबी भएका कारण युरोपका अधिकांश देशमा पेन्सन सुधार कार्यक्रम असफल भइरहेको छ 

आफ्नो राजनीतिक भविष्य अन्योलताबाट गुज्रिरहेका वेला यसै वर्षको अक्टोबरको सुरुमा फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २०२७ सम्म (राष्ट्रपति निर्वाचन मिति ) अलोकप्रिय पेन्सन सुधार स्थगित गर्ने वाचा गरे । प्रधानमन्त्रीको घोषणापछि समाजवादी सांसदहरूले विजयोत्सव मनाए । अर्कोतर्फ फ्रान्सेली व्यापार समुदाय दु:खी बन्यो । बजेट चिन्ता उद्धृत गर्दै एस एन्ड पीले फ्रान्सको क्रेडिट रेटिङ घटायो ।

फ्रान्सले कम्तीमा दुई वर्षअघिदेखि अपरिहार्य सुधार सुरु गरिरहेको छ । धेरै युरोपेली देशले आफ्नै पेन्सन संकटको सामना गरिरहेका छन् । दिगो, समतामूलक र राजनीतिक रूपमा व्यावहारिक हुने पेन्सन सुधार कसरी डिजाइन गर्ने भन्ने कुरा मनन गर्न लायक छ ।

युरोपमा पेन्सन सुधारको बहसको एउटा उल्लेखनीय विशेषता भनेको यसको मूल समस्या कति राम्ररी बुझिएको र व्यापक रूपमा दस्ताबेज गरिएको छ भन्ने हो । युरोपको जनसंख्या वृद्ध छ । जन्मदर घट्दै गइरहेको छ । औसत आयु अहिलेसम्मकै उच्च छ । सार्वजनिक प्रणाली कोष जुटाउन योगदान दिने मानिसको संख्या कम छ, जसले गर्दा धेरै मानिसले लामो समयसम्म पैसा कमाउन सक्नेछन् । साथै, प्राविधिक अवरोधले कुल गार्हस्थ उत्पादनमा श्रम आयको हिस्सा घटाउँदै छ ।

युरोपका धेरैजसो पे–एज–यु–गो प्रणाली (मूल्य निर्धारण मोडेल, जहाँ ग्राहकले सेवाका लागि एक निश्चित शुल्कको सट्टा वास्तविक प्रयोगका आधारमा भुक्तानी गर्छन्) जनसंख्या पूर्ण रूपमा फरक हुँदा डिजाइन गरिएको हुनाले त्यसलाई वर्तमान वास्तविकता प्रतिबिम्बित गर्न समायोजन गर्नुपर्छ । हामी शिक्षाजस्ता अन्य क्षेत्रमा समायोजनलाई स्वीकार गर्छौं । हामी विद्यालयका प्रशासन एकाइ पुन: कायम गर्छौं र हाम्रा वरपर सानो संख्यामा बालबालिका प्रतिबिम्बित गर्न नयाँ स्कुल निर्माणलाई काँटछाँट गछौँ । तर, सेवानिवृत्त उमेर समायोजन गर्ने कुनै पनि कुरा लिएर पेरिस, म्याड्रिड वा ब्रसेल्सका सडकमा हजारौँ उग्र प्रदर्शनकारी भरिएका हुन्छन् ।

फ्रान्समा सरकारले पेन्सन सुधारलाई जोड दिएको छ, यसले कर्मचारीको अवकाशको उमेर दुई वर्षले बढाएर ६४ वर्ष गर्ने प्रस्ताव गरेको छ । डेनमार्कले औसत आयुअनुसार प्रत्येक पाँच वर्षमा अवकाशको उमेर समायोजन गर्छ । उसले यसै वर्षको वर्षको सुरुमा हालको ६७ वर्षबाट २०४० सम्ममा ७० वर्ष पुर्याउने स्वीकृति दिएको छ ।

राजनीतिले अर्थतन्त्रमाथि हाबी गरेका कारण पेन्सन सुधार असफल भइरहेको छ । जनसांख्यिकीय संक्रमण अनुमान गर्न सकिन्छ, त्यसको लागत मापनयोग्य छ । त्यसको परिणामलाई सम्बोधन गर्न आवश्यक नीतिगत उपकरण यसअघि नै अस्थित्वमा छन् । तर, चुनावी प्रोत्साहन र सार्वजनिक अविश्वाससँग ठोक्किएपछि सुधारहरू पतन हुन्छन् ।

यी समस्याबाट कसरी अगाडि बढ्ने ? अवकाश उमेरजस्ता एउटा मात्र विषयलाई हेर्नुको सट्टा हामी बहुआयामिक दृष्टिकोण प्रस्ताव गर्छौं, जसले खर्च र योगदानलाई सम्बोधन गर्छ र सुधारबाट सुरुमा प्रभावित भएकालाई क्षतिपूर्ति दिन्छ । स्पेनले हाम्रो केस स्टडीको रूपमा काम गर्यो, तर पाठ धेरै युरोपेली देशका लागि सत्य हो, जसमध्ये फ्रान्स पनि हो ।

स्वचालित समायोजन 
समाधानको एक भाग भनेको नयाँ स्वचालित समायोजन संयन्त्र वा परिवर्तनशील आर्थिक र जनसांख्यिकीय वास्तविकताअनुसार पेन्सन अनुकूलन गर्ने नियम समावेश गर्नु हो । यी संयन्त्रले पेन्सन प्रणालीलाई अझ विश्वसनीय बनाउँछन् र राजनीतिक कठिनाइले भरिएका सुधारको शृंखलामा तिनीहरूको निर्भरता कम गर्छन् ।

हामी कम पेन्सनको मार खेपिरहेका कामदार र सेवानिवृत्तलाई क्षतिपूर्ति दिने प्रस्ताव पनि गर्छौं । यो सरकारबाट घरपरिवारमा तरल सम्पत्तिको एकपटकको हस्तान्तरणमार्फत गरिनेछ ।

यस नीतिको नकारात्मक पक्ष सरकारहरूले भुक्तानीका लागि कोष जुटाउनु पर्नेछ, (सम्भवत: नयाँ सार्वजनिक ऋण जारी गरेर) । तर, हामीले धेरैपटक देखेका छौँ, गुमाउनेलाई क्षतिपूर्ति दिने कुनै प्रयासविना नै अगाडि बढाइएका सुधार प्राय: उल्टा हुन्छन् । सेवानिवृत्तिमा नजर राख्ने वृद्ध मतदाता र तिनीहरूको संख्या हरेक दिन बढ्दै गइरहेको छ । उनीहरूले आफ्नो घाटाबापत क्षतिपूर्ति पाउनेछन् भन्ने कुरा नबुझेसम्म उनीहरूको लाभ कटौती गर्ने कुनै पनि प्रयासलाई रोक्नेछन् । 

पेन्सन सुधारलाई कसरी व्यावहारिक बनाउने ?
१. एक दिगो तत्वबाट सुरुवात गर्नुहोस्, जसले प्रारम्भिक पेन्सनको मात्रालाई सेवानिवृत्त हुने कामदारको समूहको औसत आयुसँग समायोजन गर्छ । व्यवहारमा यसको अर्थ कम उमेरमा सेवानिवृत्त हुने मानिसले कम पेन्सन पाउनेछन्, किनभने उनीहरूले धेरै वर्षसम्म भुक्तानी पाउने सम्भावना हुन्छ । यसले कामदारलाई आफ्नो काम गर्ने जीवन विस्तार गर्न प्रोत्साहन गर्छ ।

२. प्रणालीको वित्तीय दिगोपनको सुनिश्चित गर्न पेन्सन अधिकार वा पेन्सन अद्यावधिक गर्ने स्वचालित समायोजन नियम लागू गर्नुपर्छ । हाल, धेरै प्रणालीले उपभोक्ता मूल्य सूचकांक प्रयोग गरेर पेन्सन अद्यावधिक गर्छन् । यो दिगो छैन, किनकि यसले पेन्सन प्रतिस्थापन दर, सेवानिवृत्तिपूर्व तलब र पेन्सन आयको अनुपात घटाउँछ । यो विशेषगरी कम वा शून्य श्रम उत्पादन वृद्धिको वातावरणमा सत्य हो (जस्तै– स्पेनमा छ)।

३. पछिल्लो २५ वर्ष वा त्योभन्दा कम समयको सेवा अवधि मापन गर्नुको सट्टा अवकाश प्राप्त कामदारको सम्पूर्ण कार्य जीवनकालमा गरिएको योगदान मुल्यकांकन गरेर पेन्सन गणना गर्नुहोस् । काम गरेको सुरुवाती वर्षलाई बेवास्ता गर्नाले उच्च कमाउनेलाई फाइदा हुन्छ र समग्र प्रणालीलाई कमजोर बनाउँछ ।

४. पेरोल कर योगदानमा सीमा हटाउनुहोस् । तर, अधिकतम पेन्सन कायम राख्नुहोस्, ताकि धेरै कमाउनेले उच्च पेन्सन प्राप्त नगरी प्रणालीमा बढी भुक्तानी गर्न सकून् ।

५. यी सुधारबाट वञ्चित कामदार र सेवानिवृत्तका लागि एकपटकको क्षतिपूर्ति प्रस्ताव गर्नुहोस् । यी क्षतिपूर्तिलाई सार्वजनिक ऋणबाट वित्तपोषण गर्न सकिन्छ । यो संक्रमणकालीन घटकले निष्पक्ष संक्रमणलाई सहज बनाउँछ र सामाजिक अस्वीकृतिलाई रोक्छ, जसले प्राय: पेन्सन सुधारहरू असफल बनाउँछ ।

संयुक्त रूपमा यी उपायले भविष्यमा हुने पेन्सन खर्च घटाउने पेन्सन प्रणालीको वित्तीय दिगोपनमा सुधार मात्र गर्दैनन्, बरु निजी बचतलाई पनि प्रोत्साहन गर्छन् र लामो समयसम्म काम गर्ने जीवनलाई प्रवद्र्धन गर्छन् । पेन्सन सुधार पहिले नै घोषणा गरिएमा संक्रमणको लागत कम हुन सक्छ, किनकि घरपरिवारसँग आफ्नो उपभोग, बचत र अवकाश विकल्प समायोजन गर्न बढी स्वतन्त्रता हुन्छ । यसको अर्थ यो होइन कि पेन्सन सुधारले विवाद सिर्जना गर्दैन । यी उपाय अपनाइएमा सरकारले तिनीहरूलाई स्पष्ट रूपमा व्याख्या गर्नुपर्नेछ र सार्वजनिक धक्काको पूर्वानुमान गर्नुपर्नेछ । उनीहरूले यो पनि स्पष्ट पार्नुपर्नेछ कि सुधार भएन भने बृहत् करवृद्धि अपरिहार्य हुनेछ ।

तर, यसको विकल्प झनै खराब छ । हाम्रो गणनाअनुसार, स्पेनले हालको प्रणालीलाई अनिश्चित कालसम्म टिकाउन पर्याप्त राजस्व जुटाउन आफ्नो औसत मूल्य अभिवृद्धि कर नौ प्रतिशतले बढाउनुपर्नेछ (१६ प्रतिशतबाट २५ प्रतिशतसम्म) । पेन्सनसम्बन्धी अलोकप्रिय निर्णयमा ढिलाइ गरेर राजनीतिज्ञले भविष्यमा अझ बढी अलोकप्रिय करवृद्धिका लागि आफूलाई तयार पारिरहेका छन् ।

- जिमिनेज आइइएसई बिजनेस स्कुलका प्राध्यापक हुन् । 
- साभेद्रा  युनिभर्सिटी अफ ग्रानडाका सहप्राध्यापक हुन् । 

द कन्भर्सेसनबाट

सुझावित समाचार