विराटनगरको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडाैं गोर्खाजलाई ५ विकेटले हराउँदै विराटनगर किंग्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ । शनिबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको एनपिएलको आठौँ खेलमा दोस्रो जित निकालेसँगै विराटनगरले सुदूरपश्चिमसँगै समान ४ अंक जोडेको छ । विराटनगर र सुदूरपश्चिम नै प्रतियोगितामा अपराजित यात्रा कायम राख्न सफल भएका छन् । 

टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा विराटनगरले १७ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो । 

विराटनगर लगातार दोस्रो जित निकाल्न सफल भएको छ । मार्टिन गप्टिल र लोकेश बलमले सतकीय साझेदारी गरेपछि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । तेस्रो खेल खेलेको काठमाडौं भने दोस्रो पटक पराजित भयो । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा २९ रनले पराजित भएको हो । 

विराटनगरको जितमा जर्ज मुन्सीले सर्वाधिक ३६ रन बनाए । उनले १६ बलमा ५ चौका र २ छक्का हिर्काएका हुन् । अघिल्लो खेलमा अर्धसतक बनाएका मार्टिन गप्टिलले १९ बलमा २५ रन बनाए । उनले २ चौका र १ छक्का हिर्काएका थिए । बसिर अहमले १९ तथा लोकेश बलमे १४ रनको योगदान गरे । दोस्रो विकेटको लागि गप्टिल र मुन्सीले २४ बलमा सर्वाधिक ५३ रनको साझेदारी गरेका थिए । नरेन भट्टले २४ रनको योगदान गरे । 

काठमाडौंका लागि साहव आलमले सर्वाधिक दुई तथा जेरार्ड इरास्मस तथा करण केसीले समान एक रन बनाएका हुन् । 

पहिलो इनिङ्समा काठमाडौंका मोहम्मद आदिल आलमले अविजित सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा चार चौका र २ छक्का हिर्काएका हुन् ।  ओपनर बेन चाल्सस्वर्थले ३३ बलमा ३२ रन बनाए । १ चौका र २ छक्का हिर्काएका उनलाई शुभम रन्जनेले नरेन भट्टले क्याच गरेका थिए । सन्तोष यादवले २४ बलमा २६ रनको योगदान गरेका थिए । 

काठमाडौं ४।१ ओभरमा १३ रन जोड्दा ३ विकेट गुमाएपछि दबाबमा आएको थियो । आदिल  र सन्तोष यादवले छैटौं विकेटको लागि  ३० बलमा ४५ रनको बलियो साझेदारी गरेपछि काठमाडौले सम्मानजनक स्कोर बनाएको थियो । दुबै खेलाडी १२।५ ओभरमा ५६ रन बनाउँदा पाँच विकेट गएपछि क्रिजमा रहेका थिए । 

काठमाडौंको लागि जेरार्ड इरास्मसले १० रन बनाएका हुन् । अन्य खेलाडी भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि ओपनर आकाश त्रिपाठी ५ बल खेलेर डक भएका थिए । 

विराटनगरका लागि मर्चन्ट ल्याङले २ विकेट लिए । शुभम रन्जने, सुर्य तामाङ र सन्दीप लामिछानेले समान  एक विकेट लिएका थिए । 

आज नै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्यो । कर्णालीका मार्क वाटले सतक बनाएका थिए । उनी दोस्रो एनपिएलमा सतक बनाउने पहिलो तथा समग्रमा दोस्रो खेलाडी हुन् । 

प्रतियोगितामा आइतबार कुनै खेल हुने छैन । सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल हुनेछ ।

See More On

सुझावित समाचार