मार्क वाटले सतक बनाएसँगै कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रतियोगिताको सातौं खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्याे ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५७ रन लक्ष्य दिएको थियो । प्रत्युत्तरमा कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाउँदै पहिलो दुई अंक जोडेको हो ।
कर्णालीले प्रतियोगितामा पहिलो जित निकालेको हो । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको थियो । लुम्बिनी लगातार दोस्रो जितका दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो ।
दोस्रो इनिङ्समा कर्णालीको लागि मार्क वाटले सर्वाधिक अविजित ११४ रन बनाएका थिए । स्कटल्यान्डका २९ वर्षीय बायाँ हाते ओपनरले ४४ बलमा ६ चौका र १२ छक्का हिर्काएका हुन् । यसअघि वाटले २९ बलमा ३ चौका र ५ छक्कासहित ५० रन बनाएका थिए ।
विलियम बासिस्टो २० बलमा २९ रनमा अविजित रहे । यसअघि ओपनर प्रियान्क पन्चालले १२ रनको योगदान गरेका थिए ।
यसअघि पहिलो इनिङ्समा खेलमा कर्णाली याक्सका बलर हाबी भए । कर्णालीले कूल सात बलर प्रयोग गरेको थियो । त्यसपछि लुम्बिनीले ठूलो साझेदारी गर्नै सकेन ।
टस हारेको लुम्बिनीको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । अर्धसतक बनाउन एक रनले मात्रै चुकेका रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका हुन् । ४३ बलमा चार चौका र दुई छक्का हिर्काएका रोहितलाई सोमपालले नाजिवुल्लाह जाद्रनबाट क्याच गराएका थिए ।
डार्सी सर्टले १४ बलमा १९ रन बनाए । गुल्शन झाको बलमा प्रियान्क पाञ्चलबाट आउट हुनुअघि सर्टले चार चौका प्रहार गरेका थिए । रोहित र डार्सीले दोस्रो विकेटको लागि ३६ रनको सबैभन्दा धेरै साझेदारी गरेका थिए ।
जेजे स्मिथले १४ बलमा २३ रनको योगदान गरे । उनलाई नन्दन यादवले युवराज खत्रिबाट क्याच आउट गराए । रुवेन ट्रम्पलमेनले १४ बलमा अविजित २९ रनको योगदान गरेका थिए । चार खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् । सुरुबाटै दबाबमा आएको लुम्बिनीले पावर प्लेमा एक विकेट गुमाउँदा मात्र ३६ रन बनाएको थियो ।
अर्का ओपनर सन्दीप जोराले ८ बलमा १ रन जोड््दा नन्दन यादवले विलियम बोसिस्टोबाट सुन्दर क्याच आउट गरे । तेस्रो नम्बर क्रिजमा आएका दिपिल नाथलाई ६ रन बनाउँदा मार्क वाटले आफैले क्याच गर्दै लुम्बिनीविरुद्ध दबाब सिर्जना गरेका हुन् । सुमित महर्जनले मात्र ४ रन बनाए ।
पहिलो खेलमा बेन्चमा रहेका बिपिन शर्माले अफगानिस्तानी स्टार गुल्वादिन नाइवलाई एलबिडब्लु धरापमा पारेका थिए । गुल्वादिनले ७ रन मात्रै बनाए । यता, पहिलो खेलमा विपिन चितवनविरुद्ध बेन्चमा थिए । चार रन बनाएका सुमित महर्जनलाई युवराज खत्रीले विलियम बोसिस्टोबाट क्याच आउट गराउँदा १३.४ ओभरमा लुम्बिनीले मात्र ७८ रन बनाएको थियो । समिर अली मुसलमान एक रन बनाउँदा रन आउट भएका थिए ।
कर्णालीका नन्दन यादवले सर्वाधिक २ विकेट लिएका थिए । उनले ४ ओभरमा सर्वाधिक ३८ रन खर्चिए । सोमपाल कामी, नन्दन यादव, गुल्शन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान एक विकेट लिएका थिए । दुई सानदार क्याच गरेका विलियमले दुई ओभर बलिङ गरेपनि विकेट बिहिन भएका थिए ।