काठमाडौं महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
उद्यमशीलतासँग सम्बन्धित ‘एक वडा, एक नमुना कार्यक्रम’ ले नतिजा प्रदान गर्न थालेको उपप्रमुख डंगोलको दाबी छ । उनका अनुसार महिला समूहहरूलाई पनि उद्यमी बनाउने लक्ष्य दिइएको छ । यसलाई नीतिगत रूपमा नै व्यवस्था गरिने उनको भनाइ छ ।
‘घरमै बसे पनि हातमा केही न केही सीप हुन सक्छ । कसैलाई मीठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सिप हो । मैले के जानेको छु र ? भनेर नबस्नु होला’, उनले महिलाहरूलाई प्रोत्साहित गरिन् ।
महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ ।
कामपाले सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो। २०७८ सालमा सबै वडामा समूह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् । यी समितिअन्तर्गत पाँच/पाँच जना रहेका अरु ६०० वटा समूह छन् ।
समूहका सदस्यहरूले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १०० देखि ५०० सम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक दुई वर्षमा ब्याजसहित फिर्ता हुन्छ ।
कामपाभित्रका समूहमा अहिले तीन हजार एक जना सदस्य छन् । समूहहरूको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सीपमूलक तालिमबाट उनीहरू आयआर्जनसमेत गर्छन् । गठन गरिएका समूहमा आबद्ध भएपछि महिलाहरू घर बाहिर आउन सक्छन् । महिला सशक्तीकरणको पहिलो पाइला यही नै रहेको बताइएको छ ।
महानगरभित्रका समूहमा अहिले ३ हजार १ जना सदस्य छन् । समूहहरुको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सिपमुलक तालिमबाट उनीहरु आय आर्जन समेत गर्छन् । यसरी गठन गरिएका समूहमा आवद्ध भएपछि महिलाहरु घर बाहिर आउन सक्छन् । महिला सशक्तिकरणको पहिलो पाइला यही नै हो।
कार्यक्रममा सहभागी महिलाहरुले महानगरपालिकाले सहयोग गरेको अवस्थामा आफूहरु व्यवसाय दर्ता नै गरेर उद्यम सञ्चालन गर्न सक्षम भएको बताएका थिए । ‘भाँडा माझ्ने साबुन, सरफ, हर्पिक, फिनेल जस्ता सामान किन्नै नपर्ने भएको छ । आफैँ उत्पादन गर्छौँ । हामी अन्य समितिमा गएर पनि अनुभव आदान प्रदान गर्छौँ । यसबाट हामी त उत्साहित छौँ ।’ उनीहरुले अनुभूती सुनाए।