कपिलवस्तुको बाणगंगा नगरपालिका ८ स्थित मायादेवी रंगशालामा शुक्रबार ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ औपचारिक रूपमा उद्घाटन गरिएको छ । उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले उक्त मेलाको उद्घाटन गरे । मेलामा कृषि, पर्यटन, उद्योग, प्रविधि तथा स्थानीय उत्पादनसम्बन्धी तीन सय ५० स्टलसहित विविध आकर्षक झाँकी र सांस्कृतिक कार्यक्रम समावेश गरिएको बताइएको छ।
उद्घघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले राज्यले निजी क्षेत्रको दायित्व, भूमिका र योगदानलाई आवश्यक रूपमा सम्बोधन गर्न नसक्दा उद्योग व्यवसाय कमजोर बन्दै गएको आरोप लगाए। उनले आयातमुखी प्रवृत्ति, कमिसनको अस्वाभाविक वृद्धि र घरेलु उत्पादनलाई संरक्षण नदिनु वर्तमान आर्थिक संकटका प्रमुख कारण रहेको बताएका छन्।
भण्डारीले भने,‘हाम्रा घरेलु उत्पादनले बजार गुमाइरहेका छन्, तर विदेशी उत्पादन भित्र्याउनेहरुले निर्बाध फाइदा उठाइरहेका छन्।’ सुशासन, सहज सेवा र व्यवसायमैत्री वातावरण निर्माणमा सरकार कमजोर हुँदा औद्योगिक संरचना धोष्त हुने अबस्थामा पुगेको उनको भनाइ छ। सरकारी निकायले दीर्घकालीन योजना, सहजीकरण, प्रोत्साहन र निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने भन्दै उनले उद्योग व्यवसायलाई टिकाउन राज्यको भूमिकामा सुधार अनिवार्य रहेको उल्लेख गरे ।