नेपाली मूलका शाश्‍वत स्वीडेनको माल्मो एफएफमा अनुबन्धित

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली मूलका शाश्वत राना स्वीडेनको प्रतिष्ठित फुटबल क्लब माल्मो एफएफमा अनुबन्ध भएका छन्। माल्मोले शाश्वतलाई व्यावसायिक रूपमा अनुबन्ध गरेको हो।

लामो समयदेखि युरोपको डेनमार्कमा बसेर फुटबल खेल्दै आएका शाश्वतले पहिलोपटक व्यावसायिक सम्झौता पाएका हुन्। माल्मोसँग १८ वर्षीय लेफ्ट ब्याक शाश्वतले तीन वर्षका लागि सम्झौता गरेकाे क्लबले जनाएको छ।

माल्मो स्वीडेनको चर्चित फुटबल क्लब हो। जसले स्वीडेनको शीर्ष डिभिजनको फुटबल लिग ‘अलस्भेन्सकान’ कीर्तिमानी २७ पटक जितेको छ। रानालाई माल्मोले सन् २०२८ सम्मका लागि अनुबन्ध गरेको हो ।

शाश्वत प्राविधिक रूपमै उत्कृष्ट लेफ्ट ब्याक भएको र बल र खेल कन्ट्रोलिङमा कन्फिडेन्ट रहेको माल्मोले जनाएको छ। उनले माल्मोमा व्यावसायिक अनुबन्धपछि खुसी व्यक्त गरेका छन्।

सन् २०२२ को अन्तिममा शाश्वतलाई डेनमार्कको शीर्ष डिभिजन क्लब एफसी कोपनहेगनले अनुबन्ध गरेको थियो। २०२५ सम्म उनी कोपनेहेगनको युथ टोलीमा समावेश थिए। जहाँ उनले यू–१७ र यू–१९ को प्रतियोगिता खेलेका थिए।
डेनमार्कमै जन्मेर उतै हुर्केका शाश्वत साफ यू–२० च्याम्पियनसिपका लागि एक समय नेपाली यू–२० टोलीको बन्द प्रशिक्षणका लागि समेत नेपाल आएका थिए। ६ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका उनी १४ वर्षको हुँदा कोपनहेगनको एकेडेमीमा पुगेका थिए।

शाश्वत नेपालका कराँतेका पूर्वखेलाडी विवेक राना र सुशीला हमालका छोरा हुन्। उनले यसअघि हेलेरुप आइके, लाएनबी बिके र एफसी कोपनहेगनबाट खेलिसकेका छन्।

कोपनहेगनमा जन्मिएर हुर्किएका शाश्वतले १२ वर्षको उमेरसम्म लाएनबी बोल क्लबबाट खेलेका थिए।

सुझावित समाचार