सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– ३, बरियारपट्टीमा प्रहरीले उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलबाट ११ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले बरियारपट्टीबाट जिरोमाइलतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा बिहीबार राति ११ वटा पोकामा प्याक गरिएको ११ किलो गाँजा बरामद गरेको हो।
प्रहरीले रोकेलगत्तै मोटरसाइकल छोडेर एकजना फरार भएपछि पछाडि बसेका औरही गाउँपालिका– १, कुण्डलपुर बस्ने करिब ३० वर्षीये हरिगोविन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिनुका साथै मोटरसाइकलचालकको खोजतलास भइरहेको प्रहरीको भनाइ छ।