नेकपा–जसपा एकताको सैद्धान्तिक सहमति

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार भएको वार्तामा एकताको सैद्धान्तिक सहमति भएको हो । बैठक स्रोतका अनुसार विगतका कमी–कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्ने, समाजवादको बाटोमा अगाडि बढ्ने, सडक, सदन र सरकारबाट संघर्ष गर्ने, जनवादी सिद्धान्त अपनाउने, सहमतिबाट संगठन चलाउने, जेन–जी आन्दोलनका भावना र जनताका मुद्दासहित संविधानको अग्रगामी संशोधन गर्नेलगायत विषय समेटेर सहमतिको मस्यौदा तयार पारिएको छ । 

सहमतिपत्रलाई अन्तिम रूप दिने जिम्मेवारी नेकपाका नेता प्रकाश ज्वाला र जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइएको छ । कार्यदलस्तरीय वार्तामा एकताको सैद्धान्तिक सहमति भएको ज्वालाले जानकारी दिए । ‘एकताका विषयमा कार्यदलस्तरमा घनीभूत छलफल गर्याैँ । सहमतिको ड्राफ्ट तयार भएको छ । अर्को बसाइमा त्यसलाई अन्तिम रूप दिन्छौँ,’ उनले भने ।

शुक्रबार पुनः वार्ता हुने उनले जानकारी दिए । शुक्रबारको बैठकमा ज्वाला र श्रेष्ठले सहमतिपत्र प्रस्तुत गर्नेछन् । त्यसलाई कार्यदलले अन्तिम रूप दिएपछि शीर्ष तहका छलफल हुनेछ । त्यसपछि एकताको मिति तय हुने एक नेताले बताए । नेकपाबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सहभागी थिए । जसपाबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेणु यादव, रणध्वज कन्दङ्वा र परशुराम बस्नेत वार्तामा छन् । 
 

सुझावित समाचार