नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले सयंमित हुन युवाहरूलाई आग्रह गरेकी छिन् । देशले कसैको पनि एक थोपा रगत थेग्न नसक्ने भन्दै शान्तिका लागि उनले सबै नेता र युवाहरूलाई आग्रह गरेकी छिन्।
उनले फेसबुकमा लेखेकी छिन्–
साथीहरू, संयमित हुनुहोला।
हामीले धेरै विध्वंस देखिसक्यौं , नरसंहार भोगिसक्यौं।अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन। हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौँ। अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो र हुनुपर्छ ।
भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुइमत छैन। यसकालागि हाम्रो आवाज सधैं एक छ तर साथीहरू विद्रोह पछि विवेक महत्वपुर्ण हुन्छ है। हिजो सुशासनका निम्ती हामी सडकमा आवाज उठायौं र आज देशमा शान्ति कायम राख्नु हाम्रो पनि जिम्मेवारी हो।
राजनैतिक दलका अग्रज नेता ज्यूहरू र युवाहरूले पनि बुझून् – यसबेला, नेपाल आमा शान्ति चाहन्छिन।