सिराहाबाट ब्राउनसुगरसहित तीनजना पक्राउ

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको कर्जन्हा र नवराजपुरबाट कडा खालको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो खैरो पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार बिहान इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले यात्रुवाहक बस चेकजाँचको क्रममा कर्जन्हा नगरपालिका– ३, बन्दीपुरबाट एकजनालाई पक्राउ गरेको हो। 

गोप्य सूचनाको आधारमा बा.प्र ०३–००१ ख २६५४ नम्बरको काँकडभिट्टादेखि काठमाडौं रुटमा चल्ने महादेव नामको यात्रुवाहक बसमा सवार सिराहाको लहान नगरपालिका– १, मटियर्वा बस्ने करिब २२ वर्षीय अमित यादवलाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। 

उनका अनुसार यादवले बोकेको झोला खानतलासी गर्दा झोलाभित्र लुकाएको ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिकबाहेक १५.६० ग्राम बरामद भएपछि तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

त्यसअघि गत २९ कात्तिकको साँझ जिल्लाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ४, नवराजपुरबाट भारत हुँदै नेपालतर्फ आउँदै गरेका दुईजनालाई ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स.१० प ७८६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका सप्तरीको सुरुंगा नगरपालिका– ७, चकदह गाउँका करिब २१ वर्षीय विक्रान्त चौधरी र पछाडि बसेका लहान– १ मटियर्वाका करिब २६ वर्षीय शीतल चौधरीलाई पक्राउ गरी महेशपुरतार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार