बारामा जेन–जी समूह र प्रहरीबिच झडप, १० जना घाइते

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको सिमरामा जेन–जी समूह र प्रहरीबिच बिहीबार दिउँसो भएको झडपमा १० जना घाइते भएका छन्। निरन्तरको प्रदर्शन र बाटो अवरुद्धका कारण हात हालाहालको स्थिति सिर्जना भएको थियो।

झडपमा प्रहरीतर्फ दुई निरीक्षकसहित ६ जना घाइते भएका प्रहरीले जनाएको छ। भिड व्यवस्थापनका क्रममा ढुंगा प्रहार र भिडको धक्कामुक्कीका कारण उनीहरू घाइते भएका बताइएको छ।

त्यस्तै, जेन–जी समूहतर्फ लीलाहरि सापकोटा, श्री चौधरी, सन्देश घिमिरे र निशान श्रेष्ठ घाइते भएका हुन्। तीमध्ये घिमिरे र श्रेष्ठको अवस्था गम्भीर देखिएपछि तत्कालै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज रेफर गरिएको जिल्ला प्रशासनले जनाएको छ।

स्थानीयका अनुसार झडप सुरु हुँदा कैयौँ युवा एकैपटक सडकमा उत्रिएर प्रहरीमाथि ढुंगा प्रहार गर्दै अगाडि बढेका थिए। अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सिमराचोक, पथलैया, परवानीपुर, औद्योगिक करिडोर र आसपासका क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरेको हो।

कर्फ्यु अवधिमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन सूचित गर्दै प्रशासनले अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कँदा पनि प्रहरीले तोकेको मार्गदर्शन पालना गर्न अपिल गरेको छ। कर्फ्यु उल्लंघन गर्नेप्रति कडाइका साथ कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासनले दिएको छ।

सुझावित समाचार