- पहिलो सिजनमा तालिकाको पुछारमा रहेको लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध सानदार जित निकालेको थियो
एनपिएलको पहिलो संस्करणमा लुम्बिनी लायन्स पुछारमा रह्यो । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले यसटपक उत्कृष्ट सुरुवात गर्ने योजनाका साथ चितवन राइनोजविरुद्ध बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै छ । तर, लुम्बिनीलाई त्यति सहज छैन । दोस्रो सिजनको पहिलो खेलमै कर्णाली याक्समाथि सनसनी जित निकालेको चितवन फर्ममा देखिन्छ । बलिङ र ब्याटिङमा चितवनको प्रदर्शन राम्रो छ ।
गत वर्षको तथ्यांक हेर्दा लुम्बिनी पूर्ण रूपमा ब्याटिङ र बलिङमा कप्तान रोहितमाथि नै निर्भर देखिन्थ्यो । त्यस संस्करणमा सर्वाधिक रन बनाउने सूचीको लिस्टमा रोहित तेस्रो स्थानमा रहेका थिए । उनले सात इनिङ्समा ३९.८५ को औसतमा २७९ रन जोडेका थिए । उनले बलिङमा आठ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे । अझ चितवनविरुद्धको खेलमा उनी छाएका थिए ।
उनले सो खेलमा ८० रन बनाउनुका साथै १७ रन खर्चेर चार विकेट लिएका थिए । चितवन रोहितको यस प्रदर्शनबाट पक्कै भयभीत हुनुपर्छ । रोहित पनि यसै प्रदर्शनलाई निरन्तरता दिँदै चितवनमाथि दबाब सिर्जना गर्न चाहेका छन् । पहिलो खेल भए पनि लुम्बिनीले डे–नाइटका लागि राम्रो अभ्यास गरेको छ । लुम्बिनीले अन्तिम समयमा ब्याटिङ अलराउन्डर अफगानिस्तानका मोहमद नैबलाई भिœयाएको छ । यसपटक ब्याटिङ अर्डर बलियो बनाउन लुम्बिनीले डार्ची सर्टलाई अनुबन्ध गर्यो ।
अस्ट्रेलियाली सर्ट टी–२० फम्र्याटका राम्रा खेलाडी हुन् । बलिङमा सुमित श्रेष्ठ तथा शेर मल्लले साथ दिनेछन् । हङकङ सिक्सेजमा उत्कृष्ट ब्याटिङ गरेका सन्दीप जोराको ब्याटिङ चल्दा चितवनका बलर दबाबमा आउन सक्छन् । चितवनले भने लुम्बिनीको कसिलो बलिङ आक्रमणको जवाफ फर्काउन इंग्ल्यान्डका रवि बोपारा, कप्तान कुशल मल्ल र विदेशी खेलाडी डेभिड मलानजस्ता खेलाडीका साथमा प्रतिस्पर्धा गर्नेछ । गत सिजनमा सनसनी बलिङ गरेका पाकिस्तानका फास्ट बलर सोहेल तनभिर पहिलो खेलमा त्यति चल्न सकेनन् । यद्यपि, उनी फर्ममा आउँदा विपक्षी शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान सहजै बिट हुन्छन् । चितवनले पनि सोहेल लुम्बिनीविरुद्धको प्रतिस्पर्धामा फर्ममा आउने अपेक्षा राखेको छ । पहिलो खेलमा सोहेलको बल स्विङ भइरहेको थियो । पावर प्लेमा उनी खतरनाक बलर बन्न सक्छन् ।
प्लेयर्स टु वाच
कुशल मल्ल (चितवन)
त्रिवि मैदानमा कुशलको ब्याटिङ चल्छ । त्यहाँको पिचमा अभ्यस्त भइसकेका उनी विपक्षीको रणनीतिअनुरूप आफूलाई उतार्न सक्छन् । कर्णालीविरुद्धको पहिलो खेलमा सोचेजस्तो प्रदर्शन गर्न नसकेका उनी दोस्रो खेलमा खरो रूपमा प्रस्तुत हुने विश्वास चितवनको छ । कर्णालीसँगको प्रतिस्पर्धामा कुशलले २० रन बटुलेका थिए । उनले बलिङमा २९ रन खर्चंदा पनि विकेट लिन सकेनन् । ब्याटिङ अलराउन्डरको भूमिका निर्वाह गर्ने कुशल बायाँहाते स्पिन बलिङमा विपक्षीका मध्यक्रमका ब्याट्सम्यानमाथि दबाब सिर्जना गर्न सक्ने क्षमता राख्छन् । चितवनले लगातार दोस्रो खेलमा जित निकाल्न उनको ब्याटिङ अलराउन्डर भूमिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
रोहितकुमार पौडेल (लुम्बिनी)
राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी दोस्रो संस्करणको एनपिएलमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ । मध्यक्रमका ब्याट्सम्यान रोहितको ब्याटिङ चले लुम्बिनीले यो सफलता प्राप्त गर्न सक्छ । गत सिजनमा कर्णालीविरुद्ध नर्भस नाइन्टिजको सिकार हुँदा उनी शतक प्रहार गर्नबाट चुकेका थिए । उनी फर्ममा रहँदा राष्ट्रिय टोलीसँगै उनी आबद्ध लुम्बिनीको अवस्था बलियो हुने गर्छ । पछिल्लो समयमा ब्याटिङमा उतारचढाव सामना गरिरहेका रोहितले घरेलु मैदानमा उत्कृष्ट ब्याटिङ गर्ने मनसाय बनाएका छन् । अवस्थाअनुसार उनी स्पिन बलिङसमेत गर्न सक्छन् । आइसिसी विश्वकप लिगमा उनले युएईविरुद्ध १०९ रनको शतकीय इनिङ्स खेल्दै आफूलाई फर्ममा ल्याएका थिए ।
रवि बोपारा (चितवन)
इंग्ल्यान्डका अनुभवी अलराउन्डर बोपारा उत्कृष्ट फर्ममा छन् । कर्णाली याक्सविरुद्धको जितमा उनले अलराउन्डर प्रदर्शन गरेका थिए । ब्याटिङमा ५२ रन तथा बलिङमा १८ रन खर्चेर एक विकेट लिँदा गत वर्ष तेस्रो स्थानमा रहेर एनपिएल सकाएको कर्णालीमाथि चितवनले सनसनी जित निकाल्यो । चितवनले बिहीबार आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यस खेलमा चितवनले बोपाराबाट ब्याटिङ र बलिङमा साथ पाउने अपेक्षा गरेको छ । दायाँहाते बलर तथा ब्याट्सम्यान बोपाराले विश्वचर्चित फ्रेन्चाइज लिगको अनुभव बटुलेका छन् । उनले लगातार दोस्रो सिजन एनपिएलमा यो अनुभव प्रयोग गरिरहेका छन् ।
गुल्बदिन नैब (लुम्बिनी)
गत सिजन खराब प्रदर्शन गरेको लुम्बिनीले अन्तिम समयमा विदेशी कोटामा अफगानिस्तानका बलर नैबलाई अनुबन्ध गरेको हो । अफगानिस्तानको अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त सफलतामा नैबको भूमिका महत्वपूर्ण छ । ब्याटिङ अलराउन्डर भूमिका निर्वाह गर्न सक्ने नैबले मध्यक्रममा राम्रो स्ट्रोक लगाउँदै विपक्षी बलरमाथि दबाब सिर्जना गर्न सक्छन् । उनले अफगानिस्तानबाट ८९ एकदिवसीयमा पाँच अर्धशतकसहित एक हजार ३२२ रन बटुलेका छन् । यसैगरी ७८ टी–२० आईमा तीन अर्धशतक प्रहार गरी ९८६ रन बनाएका छन् । ब्याटिङका साथै बलिङमा समेत उत्कृष्ट योगदान दिन सक्ने नैबले ७४ एकदिवसीयमा ७४ तथा टी–२० आईमा ३५ विकेट हात पारेका छन् ।
नि:शुल्क बस सेवा
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न जाने दर्शकका लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने दर्शकका लागि नि:शुल्क बस सेवा सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपिएल खेल हेर्न गएका महिला, वृद्ध र अशक्तका लागि साँझ ६ बजेदेखि ८ बजेसम्म बस सेवा सञ्चालन गरिएको छ । त्यसका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको जनाइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको एनपिएल आगामी २७ मंसिरसम्म सञ्चालन हुनेछ । क्यानले दर्शकका लागि चारवटा रुट निर्धारण गरेको छ ।