साउदी अरब अमेरिकाको प्रमुख गैरनेटो सहयोगी घोषित

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई संयुक्त राज्य अमेरिकाको प्रमुख गैरनेटो सहयोगी घोषित गरेका छन् । साउदी युवराज मोहम्मद बिन सलमानको वासिंटन डिसी भ्रमणका क्रममा ट्रम्पले उक्त घोषणा गरेका हुन् । 

भ्रमणका क्रममा अमेरिका र साउदी अरबबिच हतियार बिक्री, नागरिक प्रयोजनका लागि आणविक सहयोग, कृत्रिम बौद्धिकता (एआई) र महत्वपूर्ण खनिजहरू समेट्ने विषयमा सम्झौता भएको थियो । मंगलबार साँझ युवराज मोहम्मद बिन सलमानका लागि ह्वाइट हाउसमा रात्रिभोज प्रदान गरिएको थियो । सोही भोजमा ट्रम्पले साउदी अरबलाई अमेरिकाको प्रमुख गैरनेटो सहयोगी बनाइएको घोषणा गरेका थिए । 

यस सम्बन्ध भएका देशले अमेरिकाबाट विशेष सैन्य र आर्थिक विशेषाधिकारको लाभ उठाउन सक्छन् । तथापि, साउदी अरबमाथि आक्रमण भएको समयमा अमेरिका सुरक्षाका लागि भने अघि आउनेछैन । 

त्यस्तै, ट्रम्पले साउदी अरबलाई अत्याधुनिक एफ–३५ लडाकु विमानको बिक्री पनि खुलाएको ह्वाइट हाउसले घोषणा गरेको छ । साउदी अरबले ४८ वटा एफ–३५ लडाकु विमान किन्न चाहेको जानकारी दिएको छ । यदि कार्यान्वयन भए साउदी अरब एफ–३५ हासिल गर्ने इजरायलपछि मध्यपूर्वको पहिलो देश हुनेछ ।

यो कदमलाई वासिंटनले गरेको एउटा महत्वपूर्ण नीतिगत परिवर्तनको रूपमा हेरिएको छ, जसले मध्यपूर्वको अहिलेको सैन्य सन्तुलन परिवर्तन गर्न सक्छ । अमेरिकाले कानुन बनाएरै मध्यपूर्वमा इजरायललाई ‘गुणात्मक सैन्य अग्रता’प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ इजरायलबराबरको उन्नत हतियार छिमेकीसँग हुनुहुँदैन भन्ने हो । त्यसबाहेक साउदी अरबले ३०० वटा अमेरिकी तोप पनि खरिद गर्ने सहमति जनाएको छ ।

इजरायली सरकार र उसका वासिंटनमा रहेका लबिस्ट्सहरूले साउदी अरेबियालाई एफ–३५ को बिक्री रोक्न अन्तिमसम्म प्रयास गरेको अलजजिराले लेखेको छ । तथापि, घोषणापछि इजरायली अधिकारीले साउदी अरब ‘अब्राहम सम्झौता’अन्तर्गत इजरायलसँग सम्बन्ध सामान्य बनाउन आए विमान बिक्रीको विरोध नगर्ने बताएका छन् । 

तर, वासिंटनमा पत्रकारसँगको कुराकानीमा साउदी युवराजले अब्राहम सम्झौताप्रति कुनै विरोध नरहेको तर त्यसका लागि प्यालेस्टिनी राज्यको विश्वसनीय ग्यारेन्टी हुनुपर्ने बताए । 

See More On

सुझावित समाचार