प्रधानमन्त्री सुशीला कार्कीले आज बाराको सिमरामा भएको तनाव र हिंसा अत्यन्तै दुःखद भएको बताएकी छिन्। सामाजिक सञ्जालमार्फत वक्तव्य सार्वजनिक गर्दै उनले घटनाप्रति दुःख व्यक्त गरेकी हुन्।
वक्तव्यमा भनिएको छ– म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर, यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन । मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको छु। लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु।
एमालेका नेताहरू बाराको सिमरामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा जेन–जी युवाहरूले उनीहरूलाई रोक्न तोडफोड र विरोध प्रदर्शन गरेका थिए। जसका कारण नेताहरू विमानस्थलबाटै फर्किएका थिए ।