बाराको सिमरा चोकमा शान्तिपूर्वक कार्यक्रम गर्न जुटेका जेन-जीमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको भन्दै जेन-जी फ्रन्टले आपत्ति जनाएको छ।
संविधानले प्रत्येक नागरिकलाई शान्तिपूर्ण भेला हुने अधिकार र स्वतन्त्र आवतजावत तथा बसोबासको अधिकार प्रदान गरेको उल्लेख गर्दै फ्रन्टले कुनै पनि पुराना राजनीतिक दलका तर्फबाट जेन-जीमाथि हुने आक्रमण वा अवरोधविरुद्ध एकजुट रहेको बताएको छ।
भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन र अत्यधिक बल प्रयोग गरी २२ जनाको हत्या गरेको बताउँदै फ्रन्टले भनेको छ, ‘त्यस आपराधिक र नरसंहारी गतिविधिको दुई महिना बित्दै गर्दा जेनजीको शान्तिपूर्ण कार्यक्रममा पुनः नेकपा एमालेसम्बद्ध व्यक्तिहरूले नै आक्रमण गरी शान्ति सुव्यवस्था बिगार्ने किसिमका गतिविधि हुनु खेदजनक छ।’
जुनसुकै राजनीतिक दल र नेताले संविधानप्रदत्त स्वतन्त्रताबमोजिम नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्न पाउनुपर्ने कुरामा आफूहरू स्पष्ट र अडीग रहेको भन्दै फ्रन्टले कुनै अवरोध भए आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई समेत आग्रह गरेको छ।
फ्रन्टले जेन-जी विद्रोहको जनादेशलाई मतादेशबाट संस्थागत गरी जेन-जीका इच्छा, आकांक्षा र माग पूरा गराउने लोकतान्त्रिक बाटो निर्वाचन भएको उल्लेख गर्दै संयमता अपनाउन युवाहरूलाई अनुरोध गरेको छ।