बारामा कर्फ्युबिच प्रदर्शन जारी

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेका नेताहरूको विरोधमा जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा राष्ट्रिय युवा संघका कार्यकर्तासँग झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

जितपुरसिमरा– २ स्थित सिमरा चोकमा जेन-जी युवा र युवा संघका कार्यकर्ताबिचको विवाद उग्र भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।

बाराको चैनपुरमा युवा संघले आयोजना गरेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा विमानस्थलबाट आउने खबर पाएपछि युवाहरूले भाद्र २३ को जेन-जी आन्दोलनमा भएको दमनविरुद्व सिमरामा प्रदर्शन आयोजना गरेका थिए। सोही क्रममा एमालेका महासचिव पोखरेल र नेता बस्नेतलाई स्वागत गर्न विमानस्थलतर्फ जाँदै गरेका युवा संघका कार्यकर्ता र प्रदर्शनकारीबिच सिमरा चोकमा विवाद बढेपछि युवा संघका कार्यकर्ताले जेन-जी युवामाथि कुटपिट गरेका थिए।

कुटपिटलगत्तै जेन-जी युवाहरूले सिमरामा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सिमरा विमानस्थलमा प्रहरी र जेन-जी युवाबिच दोहोरो झडप नै भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र लाठी प्रहार गरेको थियो। सो क्रममा जेन-जीले सिमरा विमानस्थलको मूल गेटमा तोडफोड गरेका छन्। एमाले नेता विमानबाट आउन लागेको भन्दै विमानस्थल पुगेका जेन-जीले प्रवेशद्वार भत्काएका हुन्।

जेन-जीको प्रदर्शनपछि सिमरा विमानस्थल बन्द गरिएको छ। सिमरा विमानस्थल बन्द भएपछि नेकपा एमालेका महासचिव पोखरेल, नेता बस्नेत बारा आउने कार्यक्रम स्थगित भएको छ।

सिमराबाट करिब १५ किमि दक्षिण जिल्लाको परवानीपुर गाउँपालिकाको चैनपुरमा राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानमा सहभागी हुन एमाले नेताहरू बारा आउन लागेका थिए। विमानस्थलमा उडान रद्द भएपछि महासचिव पोखरेलसहित एमाले नेताहरू काठमाडाैंमै रोकिएका छन्। भेलामा युवा संघका अध्यक्ष क्षितिज थेबे, एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वाला साहलगायतका नेताहरूले सम्बोधन गरेका छन्। 

प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालयले पथलैयादेखि परवानीपुरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

सुझावित समाचार