ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४, तेम्बा बजारमा मंगलबार राति ठुलो आगलागी हुँदा चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट एक करोड २० लाख रुपैयाँबराबरको क्षति भएको छ।
राति साढे ११ बजे लागेको आगोबारे स्थानीयले साढे १२ बजेतिर प्रहरीचौकी साँवामा खबर गरेका थिए। सूचना पाएपछि प्रहरी नायब निरीक्षक ख्यामबहादुर श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो। १ बजेतिर घटनास्थल पुगेको टोलीले नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा बिहान साढे ५ बजेतिर आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण भने अझै खुलेको छैन। मानवीय क्षति नभए पनि चार घरका सबै धनमाल नष्ट भएको बताइएको छ।
इन्द्रकुमार लिम्बूको तीनतले ढुंगा–माटो र काठले बनेको घर जलेर नष्ट हुँदा अन्नपात, भाँडाकुँडा, कपडा, किराना सामान, दुई तोला सुन, दुई लाख नगद र भाडामा बस्दै आएका दोर्ची शेर्पाको २५ मन अलैँची तथा १० वटा कुखुरा जलेका छन्। समग्र क्षति करिब ४३ लाख रुपैयाँबराबरको रहेको जनाइएको छ। घरमा बस्ने चारैजना सकुशल छन्।
यस्तै, राजकुमार लिम्बूको तीनतले घर पूर्ण रूपमा जलेपछि सुन चार तोला, चाँदी १५ तोला, दुई लाख रुपैयाँ नगद, किराना सामग्री, १२ वटा कुखुरा तथा घरअगाडि राखिएको तेम्बा छोकेल शेर्पाको २२० सिसी पल्सर मोटरसाइकलसमेत जलेर नष्ट भएको छ। यो घरको कुल क्षति करिब ५० लाख रुपैयाँ अनुमान गरिएको छ।
यसैगरी, अनिल लिम्बूको तीनतले घर पनि पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्रका सामान, अन्नपात, लत्ताकपडा, दुई तोला सुन, एक तोला चाँदी, तीन लाख रुपैयाँ नगद, किराना सामग्री र २२ वटा कुखुरा जलेका छन्। क्षति करिब २० लाख रुपैयाँबराबरको रहेको छ।
विष्णुप्रसाद लिम्बूको एकतले घरसमेत जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, एक लाख रुपैयाँ नगद तथा किराना सामान जलेका छन्। करिब पाँच लाख रुपैयाँबराबरको क्षति भएको बताइएको छ। आगलागीको क्रममा घरअगाडि पार्किङ गरिएको म्याक्स गाडी (मे.१ज ३००३) र बोलेरो जिप (ग.३च ८४७)को बायाँ भागमा सामान्य क्षति पुगेको छ।