पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको ‘भुटान एयरलाइन्स’ले पोखरा–भुटान सिधा चार्टर्ड उडान सुरु गरेको छ। भुटानको पारो विमानस्थलबाट आएको भुटान एयरलाइन्सले मंगलबारदेखि पोखरा–भुटान सिधा चार्टर्ड उडान सुरु गरेको हो।
पारो विमानस्थलबाट आएको विमान बिहान ११ः३० बजे पोखरामा अवतरण गरेको थियो। विमानले १२ः०५ बजे पोखराबाट नौजना यात्री लिएर भुटान गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन्। १२६ सिट क्षमताको एयरबस–३१९ भुटानबाट विनायात्री अर्थात् चालकदलका सदस्यहरू मात्र लिएर आएको थियो। उक्त विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो।
मंगलबार पोखराबाट गएका यात्रीहरू लिएर ६ मंसिरमा सो विमान पोखरा आउने र सोही दिन पोखराबाट भुटान उड्ने सुवेदीले जानकारी दिइन्। यसअघि एयरलाइन्सले अक्टोबरबाट उडान सुरु गर्ने तालिका बनाएको भए पनि २३ र २४ भदौको आन्दोलनपछि उडानको मिति पछि सरेको हो। यसअघि १२, १६, २० र २४ असोजमा उडान गर्ने गरी एयरलाइन्सले चार उडानको तालिका बनाएको थियो।
मंगलबार पोखराबाट सुरु उडानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले केक काटेर शुभारम्भ गरेका थिए। विमानमा मेयर आचार्यसहित पर्यटन व्यवसायी र अन्य गरी नौजनाको टोली भुटान गएका हुन्। उनीहरू सोही विमानमार्फत ६ मंसिरमा पोखरा आउनेछन्। यसअघि भुटानबाट ११ भदौ २०८० मा भुटानको ‘ड्रुक एयर’ले चार्टर्ड उडानमार्फत पहिलो उडान भरेको थियो। पारोदेखि पोखरासम्मको सिधा उडानका लागि करिब एक घण्टा समय लागेको थियो।
पोखराका मेयर आचार्यले यस्तै चार्टर्ड उडानमार्फत पोखराबाट नियमित उडान सुरु हुने बाटो खुल्ने बताए। उडानले नेपाल र भुटानको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउनसमेत सहयोग गर्ने उनको भनाइ छ। पोखराबाट विश्वका अन्य देशहरुमा उडान भर्नका लागि धेरै एयरलाइन्सहरूसँग कुरा भइरहेको उनले जानकारी दिए। सुरु उडानले पोखरासँगै आसपासको पर्यटन क्षेत्र चलायमान बनाउन सहयोग गर्ने मेयर आचार्यले बताए।
युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटी) काठमाडौंले भुटान एयरलाइन्सको सहकार्यमा चार्टर्ड उडान सुरु गरेको हो। युटिटीका अध्यक्ष परासर प्रसाईंका अनुसार पोखराका पर्यटक भुटान लैजान र भुटानबाट पर्यटकहरू पोखरा ल्याउन उडान सुरु गरेको जानकारी दिए। जसका लागि कम्पनीले पोखराका र भुटान दुवै स्थानका लागि चार रात पाँच दिनको ट्राभल्स प्याकेजसमेत बनाएको छ। चार्टर्ड उडानले आउँदा दिनमा नियमित उडानको लागि बाटो खोल्ने भनाइ उनको छ। भुटान एयरलायन्सले हाल काठमाडौं–भुटान, भुटान–काठमाडौं गरी हप्तामा चार उडान भर्दै आएको छ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सुरु चार्टर्ड उडनलाई नियमित कसरी बनाउन सकिन्छ भन्नेमा सरोकारवालाहरू लाग्नुपर्ने बताए। उडानमार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग हुने भएकाले सुरु उडानलाई निरन्तर हुने गरी सबै लाग्नुपर्ने भनाइ सुवेदीको छ।