स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित तीनजनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ। मलंगवा नगरपालिका– ८ बाट बरामद गरिएको नगद राशि जम्मा आठ लाख १३ हजार ९१० रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका– ३ निवासी ३४ वर्षीय सुवास लामिछाने, २९ वर्षीय रूपेश सहनी र कविलासी नगरपालिका– ४ निवासी तथा मलंगवा नगरपालिका– १० बस्ने २८ वर्षीय मुकेश चौधरी रहेका छन्।
प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले भारतको सोनबरसा हुँदै मलंगवातर्फ आउँदै गरेको म.प्र. ०३–०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवास र रूपेश तथा पैदलयात्री मुकेशलाई रोकजाँचका क्रममा उक्त नगदसहित नियन्त्रणमा लिएको हो।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।