भ्रष्टाचारविरुद्ध मेक्सिकोमा पनि जेन–जी प्रदर्शन

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

मेक्सिकोमा भ्रष्टाचार र लागुऔषध हिंसाविरुद्ध राजधानी मेक्सिको सिटी र देशभर हजारौँ जेन–जीले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा १२० जना युवा घाइते भएका छन् । उत्तरको तिजुआनादेखि दक्षिणको ओक्साकासम्म दर्जनौँ सहरमा आयोजित प्रदर्शनमा ठुलो संख्यामा युवाको भिड भेला भएको थियो ।

प्रदर्शनकारीहरूले युवा आन्दोलनको विश्वव्यापी प्रतीक बनेको समुद्री झन्डा बोकेका थिए । ‘हामीलाई थप सुरक्षा चाहिन्छ,’ झन्डा बोक्नेहरूमध्ये एक युवा एन्ड्रेस मास्साले भने । राष्ट्रपति क्लाउडिया सेनबाउमको कार्यालय रहेकोे जोकालो प्लाजामा भएको प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि पछि हिंसामा परिणत भयो । प्रदर्शनकारीहरूले दंगा प्रहरीमाथि ढुंगा प्रहार गरे । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गरेका थिए । प्रदर्शनकारीले केही ठाउँमा आगजनीसमेत गरेका थिए ।

‘धेरै घण्टासम्म प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढे पनि पछि हिंसात्मक बन्यो जब प्रदर्शनकारी हिंसात्मक कार्य सुरु गरे,’ मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजले भने । भाज्क्वेजले १०० प्रहरी अधिकारी घाइते भएको बताए । घाइतेमध्ये ४० प्रहरी र २० प्रदर्शनकारी गम्भीर छन् ।

प्रदर्शनकारीले राष्ट्रपति सेनबाउम बस्ने राष्ट्रिय दरबारका पर्खाल भत्काएका थिए । ‘तपाईंले मेयर कार्लोस मान्जोलाई जसरी भए पनि बचाउनुपथ्र्यो,’ केही प्रदर्शनकारीहरूले भने । सेनबाउमले जेन–जी आन्दोलनमा दक्षिणपन्थी दलहरूको घुसपैठ भएको र उपस्थिति बढाउन सामाजिक सञ्जालको दुरुपयोग भएको आरोप लगाइन् । उनले आन्दोलन विदेशीको मतियारमा भएको आरोप लगाइन् । ‘यो सरकारविरुद्ध विदेशबाट प्रचार गरिएको आन्दोलन हो,’ उनले भनिन् ।

दंगा प्रहरीले प्रदर्शनकारीहरूलाई लात र मुक्का हानेको फुटेज सामाजिक सञ्जालमा भाइरल भएका छन् । मेक्सिकोको मुख्य अखबारमध्ये एक ला जोर्नाडाका फोटोग्राफर भिक्टर कामाचोले आन्दोलनको तस्बिर खिच्ने क्रममा प्रहरीले आक्रमण गरेको आरोप लगाए । ‘पत्रकारलाई लछारपछार गरियो । अधिकांशको अनुहारमा चोट लागेको छ,’ अखबारले रिपोर्ट गरेको छ । ‘एक अधिकारीले मलाई मार्ने धम्की दिए,’ कामाचोले दाबी गरे । प्रहरीका अनुसार मेक्सिकोको दोस्रो ठुलो सहर ग्वाडालाजारामा पनि प्रदर्शन चर्किएको छ, जहाँ ४७ जनालाई हिरासतमा लिइएको छ र १३ जना घाइते भएका छन् ।

अक्टोबर २०२४ देखि सत्तामा रहेकी सेनबाउमप्रति ७० प्रतिशतभन्दा धेरैले समर्थन जनाएका केही सर्वेक्षणले उल्लेख गरेका छन् । तर, धेरै हाई प्रोफाइल हत्यापछि उनको सुरक्षा नीतिको आलोचना भएको छ । मेक्सिकोकी पहिलो महिला राष्ट्रपतिले टाबास्को राज्यको भ्रमणको क्रममा हिंसाको निन्दा गरिन् ।

‘हामी हिंसालाई अस्वीकार गर्छौँ,’ उनले पत्रकारहरूलाई भनिन् । धेरै प्रदर्शनकारीले ब्यानर बोकेका थिए र मिचोआकान राज्यको उरुआपानका मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई अभिवादन गर्ने टोपी लगाएका थिए । रोड्रिगेजको नोभेम्बर १ मा सहरमा लागुपदार्थ तस्करी गिरोहविरुद्ध धर्मयुद्धको नेतृत्व गर्ने क्रममा हत्या गरिएको थियो । ‘उनी मारिएका थिए किनभने उनले अपराधीहरूसँग लड्न पहाडमा अधिकारीहरू पठाइरहेका थिए,’ मिचोआकान राज्यबाट यात्रा गरेकी ६५ वर्षीया रियल इस्टेट एजेन्ट रोजा मारिया एभिलाले भनिन् ।
– द गाजियनबाट
 

सुझावित समाचार