पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा रद्द

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

 प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत हेटौँडा उपमहानगरपालिका– ६ स्थित नेपाल–भारतमैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा पुरानो प्रश्नपत्र वितरण भएपछि रद्द गरिएको छ । केन्द्राध्यक्ष र बाह्य सुपरिवेक्षकको लापरबाहीका कारण पुरानो प्रश्नपत्र वितरण गरिएको भन्दै सो दिनका सबै परीक्षा रद्द गरिएको हो ।

पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापीअन्तर्गत बिएबिएल साइन्स, एचएको इन्भाइरोमेन्टल हेल्थ, प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटेरिनरी गरी विभिन्न विषयका परीक्षा रद्द गरिएका छन् । यी विषयमा ७९ जना परीक्षार्थी सहभागी थिए । यसअघि जेन–जी आन्दोलनका कारण अनिश्चितकालका लागि सरेको परीक्षा सिटिइभिटीले आइतबारबाट पुनः सञ्चालन गरेको हो ।

आइतबारको परीक्षामा विद्यार्थीले तोकिएको समय पूरा गरी परीक्षा केन्द्रबाट बाहिर निस्किसकेपछि मात्र पुरानो प्रश्नपत्र परेको भन्दै परीक्षा रद्द गरिएको जानकारी गराइएको थियो । त्यसपछि आक्रोशित विद्यार्थीले आफूहरूले दिएको परीक्षालाई मान्यता दिनुपर्ने भन्दै परीक्षा केन्द्रपरिसरमै केहीबेर नाराबाजीसहित गरेका थिए । 

सुझावित समाचार