नेपाल प्रिमियर लिग : साबिक विजेतासँग भिड्दै काठमाडौं

गत वर्ष लिग चरणमै जनकपुरसँग पाँच विकेटले पराजित भएको थियो काठमाडौं

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडाैं गोर्खाजबिच दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेल हुँदै छ । सोमबार हुने यस खेलसँगै एक महिना त्रिवि मैदान क्रिकेटमयी बन्नेछ । नेपाली क्रिकेट इतिहासमै पहिलोपटक डे–नाइट खेल हुनेछ । दोस्रो एनपिएलको पहिलो खेलमै काठमाडौं र जनकपुरले एउटा इतिहास बनाउनेछन् । यस मैदानमा फ्लड लाइटमा खेल्ने यी दुवै टोली पहिलो बन्नेछन् । 

एनपिएलका लागि दुवै टोलीले आ–आफ्नो तयारी पूरा गरेका छन् । काठमाडौंले मूलपानी मैदान र जनकपुरले भैरहवाको ओभल रंगशालामा प्रशिक्षण गरेका हुन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलका २३ खेल डे–नाइटमा गराउने घोषणा गरेपछि जनकपुरले ओभल रंगशालामा फ्लड लाइटमै प्रशिक्षण थालेको हो । काठमाडौंविरुद्धको खेलमा जनकपुरका खेलाडीलाई सहज बन्नेछन् । अर्कोतिर फ्लड लाइटमा खासै प्रशिक्षण नगरेको काठमाडौंलाई केही समस्या पार्न सक्छ । यद्यपि, दुवै टोली जितको प्रयासमै हुनेछन् । 

काठमाडौं पहिलो सिजनमा व्यहोरेको हारको बदला लिने योजनामा छ । गत वर्ष जनकपुरले पाँच विकेटको जित निकालेको थियो । यसै खेलमा काठमाडौंको रनरेट कमजोर रह्यो । जसकारण रनरेटकै आधारमा पछि पर्दा काठमाडौं प्लेअफमा पुग्न असफल भयो । गत सिजनको गल्ती सच्याएर यसपटक राम्रो नतिजा निकाल्ने काठमाडौंले जनाएको छ ।

काठमाडौंका कप्तान करण केसीले गत वर्ष धेरै पक्षमा गल्ती भएको स्विकारे । विदेशी खेलाडीले आफ्नो भूमिकाअनुसार खेल्न नसक्दा काठमाडौंको ब्याटिङ कमजोर बनेको थियो ।‘पहिलो सिजनमा सामान्य गल्ती गर्यौँ । यसपटक ती गल्ती सच्याएर खेल्ने योजना बनाएका छौँ,’ उनले भने । प्रतियोगितामा विदेशीभन्दा पनि स्वदेशी खेलाडीमाथि निर्भर रहेको उनको भनाइ छ । यद्यपि, काठमाडौंमा पनि राम्रा विदेशी खेलाडी नभएका होइनन् । विदेशीभन्दा पनि घरेलु खेलाडीमाथि बढी दबाब भएको करण मान्छन् । ‘विदेशीभन्दा पनि स्वदेशी खेलाडीले जिम्मेवारीपूर्ण प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने, ‘एनपिएलजस्तो प्लाटफर्ममा आफ्नो खुबी देखाउनुपर्छ ।’

चन्द्रपाउलको रणनीतिमा जनकपुर
जनकपुर पहिलो सिजनको विजेता हुँदा मुख्य प्रशिक्षक थिए पुबुदु दासानायके । यसपटक आश्चर्यजनक रूपमा जनकपुरले वेस्ट इन्डिजका पूर्वदिग्गज ब्याट्सम्यान शिवनारायण चन्द्रपाउललाई अनुबन्ध गर्यो । प्रशिक्षणमा विश्वस्तरीय अनुभव नभए पनि चन्द्रपाउल आफ्नो अन्तर्राष्ट्रिय करिअरको अनुभव जनकपुरका युवा तथा अन्तर्राष्ट्रिय खेलाडीलाई बाँड्न चाहन्छन् । काठमाडौं आएको पहिलो दिनै उनले ड्रेसिङ रुममा अनुभव बाँड्ने बताएका थिए । एक साताको बसाइमा उनी जनकपुरका खेलाडीसँग अभ्यस्त भइसकेका छन् ।

‘यहाँको अवस्थाअनुसार रणनीति बनाउने हो,’ चन्द्रपाउलले भने, ‘एनपिएलको पहिलो अनुभव हो । मेरो योजना उपाधि रक्षा गर्नु हो ।’ काठमाडौंले भने नेपाली क्रिकेटलाई एक उचाइमा पुर्याएका मोन्टी देसाईलाई मुख्य प्रशिक्षक बनाएको छ । देसाईको आगमनले काठमाडौंको जोस बेग्लै भएको छ । नेपाली खेलाडीसँग दुई वर्ष सहकार्य गरेका देसाईले उनीहरूका राम्रा र नराम्रा पक्ष बुझेका छन् । प्रशिक्षणमा देसाईलाई त्यति गाह्रो भएन । फेरि त्रिवि क्रिकेट मैदानको पिचसँग पनि उनी परिचित छन् । 

दुवै टोली सन्तुलित
काठमाडौं र जनकपुरले अक्सनदेखि विदेशी खेलाडी भित्र्याउन ध्यान पुर्याएका छन् । काठमाडौंले यसपटक टोली बलियो र उपाधि दाबेदार बनाउन विदेशीसँगै स्वदेशीलाई पनि प्राथमिकतामा राखेको छ । जनकपुरले भने विदेशी खेलाडीको पूरै कोटा पूरा गर्न सकेको छैन । प्रत्येक टोलीले कम्तीमा ६ जना विदेशी खेलाडी भित्र्याउन पाउने प्रावधान छ ।

जनकपुरले अहिलेसम्म चारजना मात्र विदेशी खेलाडी ल्याएको छ । यद्यपि, दक्षिण अफ्रिकाका चर्चित स्पिनर इमरान ताहिरको अनुबन्धसँगै जनकपुरको स्पिन पक्ष सर्वाधिक बलियो देखिएको छ । ब्याटिङमा पूर्वश्रीलंकाली खेलाडी लिहरू अर्कोतिर काठमाडौंले अलराउन्डर खेलाडीलाई समावेश गरेको छ । अक्सनमा सर्वाधिक महँगो खेलाडी बनेका मोहमद आदिल अलामले काठमाडौंबाट एनपिएलमा डेब्यु गर्नेछन् । बलिङमा काठमाडौंलाई कप्तान र मार्की खेलाडी करण केसी, गेरार्ड इरामुस, मिलिन्द कुमार र साहब आलमले साथ दिनेछन् । 

गत वर्षको नतिजा
एनपिएलको पहिलो सिजनमा जनकपुर बोल्ट्स र काठमाडाैं गोर्खाजले २१औँ खेलमा प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा महत्वपूर्ण मानिएको खेलमा जनकपुरले पाँच विकेटको जित निकाल्यो ।  त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा समेटियो । प्रत्युत्तरमा जनकपुरले १५.५ ओभरमा पाँच विकेटको क्षतिमा १०४ रन जोड्यो ।

सुझावित समाचार