न्यून ब्याजदर, जेन–जी आन्दोलन र दसैँपछि आएको बाढीपहिरोका कारण चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा १२ निर्जीवन बिमा कम्पनी घाटामा देखिएका छन् । हाल नेपालमा सञ्चालित १४ निर्जीवन र चार लघु निर्जीवन बिमा कम्पनीमध्ये १२ निर्जीवन बिमा कम्पनी खुद नोक्सानीमा देखिएका हुन् । अन्य कम्पनी नाफामै देखिए पनि निकै न्यून रहेको छ ।
आइतबारसम्म सार्वजनिक चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १२ ठुला कम्पनी समग्रमा एक अर्ब ९५ करोड ६४ लाख ५० हजार रुपैयाँ नोक्सानीमा छन् । गत आवको पहिलो त्रैमासमा यिनीहरूको कुल खुद नाफा १६ करोड ६५ लाख ८० हजार रुपैयाँ थियो । गत आवको पहिलो त्रैमासमा पनि चार कम्पनी नोक्सानीमा थिए । समीक्षा अवधिमा प्रभु इन्स्योरेन्स ६ करोड ३१ लाख ३९ हजार रुपैयाँले नाफामा छ भने नेसनल इन्स्योरेन्स तीन करोड ८१ लाख ७७ हजार रुपैयाँले नाफामा छ ।
यी हुन् घाटामा गएका कम्पनी
वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नोक्सानीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ । पहिलो त्रैमासमा उक्त कम्पनी २९ करोड ८५ लाख ४१ हजार रुपैयाँले नोक्सानीमा छ । धेरै नोक्सानी हुनेमा दोस्रो नम्बरमा दी ओरियन्टल इन्स्योरेन्स छ । उक्त कमपनी २८ करोड ४८ लाख ६० हजार रुपैयाँले नोक्सानीमा देखिन्छ । यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २६ करोड ७३ लाख ७२ हजार रुपैयाँले नोक्सानीमा गएको छ । धेरै नोक्सानी हुनेमा यो कम्पनी तेस्रो स्थानमा छ ।
यस्तै, आइजिआई प्रुडेन्सियल २० करोड ७६ लाख, सानिमा जिआइसी २० करोड दुई लाख, शिखर १५ करोड ८५ लाख ८६ हजार, युनाइटेड अजोड १५ करोड ११ लाख ९३ हजार, हिमालयन एभरेस्ट १० करोड ९३ लाख ३७ हजार र एनएलजी १० करोड १० लाख ५२ हजार नोक्सानीमा छन् ।
यसैगरी राष्ट्रिय बिमा कम्पनी नौ करोड ८५ लाख नौ हजार, नेपाल इन्स्योरेन्स नौ करोड ६३ लाख ७८ हजार र नेको इन्स्योरेन्स आठ करोड ३१ लाख ३४ हजारले नोक्सानीमा देखिएका छन् ।
चार लघु बिमा भने नाफामै
समीक्षा अवधिमा चार लघु बिमा कम्पनी भने नाफामै छन् । यिनीहरूले समीक्षा अवधिमा एक करोड २१ लाख ८९ हजार रुपैयाँ नाफा कमाएका छन् । त्यसमा नेपाल माइक्रोले ८२ लाख सात हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले २१ लाख ८८ हजार रुपैयाँ र ट्रस्ट माइक्रोले एक लाख ५३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको पहिलो त्रैमासमा नेपाल माइक्रोले ५६ लाख ८६ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले तीन लाख ८१ हजार रुपैयाँ र स्टार माइक्रोले १४ लाख ४५ हजार नाफा कमाएका थिए । त्यस अवधिमा ट्रस्ट माइक्रो भने ७९ लाख ५३ हजार रुपैयाँमा नोक्सानीमा थियो ।
बैंकको कम ब्याजदर, जेन–जी आन्दोलन र बाढी नै मुख्य कारण
मुख्यतः मुद्दती निक्षेपमा न्यून ब्याजदरसँगै जेन–जी आन्दोलन र बाढीका कारण बिमा कम्पनीहरूको नाफा प्रभावित भएको बताइएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्रीले ब्याजदर, जेन–जी आन्दोलनको क्षति र पछिल्लो बाढीले कम्पनीहरूको नाफा प्रभावित भएको बताए । सोही कारण १२ कम्पनी घाटामै गएको उनको भनाइ छ । नाफा कमाउनेको रकम पनि थोरै नै रहेको उनले बताए ।
बिमा कम्पनीहरूले आफ्नो लगानीयोग्य पुँजीमा अधिकांश बैंकको मुद्दतीमा राख्छन् । बैंकले दिने ब्याज नै उनीहरूको मुख्य आम्दानी हो । तर, पछिल्लो समय निरन्तर ब्याजदर घट्दै आएपछि कम्पनीहरूको नाफा प्रभावित भएको छ । ‘लगानी आम्दानी ६०–७० प्रतिशतले घटेको छ । त्यसले कम्पनीहरूको नाफा स्वतः प्रभावित भयो । त्यसमा जेन–जी आन्दोलन र बाढीले पु¥याएको क्षतिबाट दाबी परेपछि कम्पनी घाटामै गए,’ उनले भने, ‘मुख्य कारण नै यी हुन् ।’
गत २३ र २४ भदौमा भएको जेन–जी नेतृत्वको आन्दोलनबाट बिमा कम्पनीहरूमा हालसम्म २३ अर्ब ४६ करोड ९१ लाख दाबी परेको छ । तीन अर्ब ६८ करोड ४१ लाख अग्रिम दाबी भुक्तानी दिइएको नेपाल बिमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यस्तै, दसैँपछि १७–२० असोजमा आएको बाढीपहिरोले बिमा कम्पनीहरूमा थप तीन अर्ब ७८ करोड ४० लाख रुपैयाँ दाबी परेको छ । यो बिमा कम्पनीहरूमा पर्ने नियमित नभएर आपत्कालीन दाबी हो ।
यसअन्तर्गत कम्पनीहरूले अर्बाैँ रुपैयाँ दाबी भुक्तानी दिन बाँकी नै छ । त्यसबाट सिर्जित दायित्वबापत कम्पनीहरूले आवश्यक रकम प्रोभिजनिङ गरेका छन् । त्यसले गर्दा कम्पनीहरू नोक्सानीमा गएको सिइओ क्षेत्रीले बताए । ‘यसै पनि ब्याजदर कम भएपछि आम्दानी प्रभावित भएको थियो । त्यसमाथि जेन–जी आन्दोलन र बाढीले अतिरिक्त दाबी पर्यो ।
त्यसबापत अतिरिक्त प्रोभिजनिङ गर्नुपरेपछि कम्पनीहरू नोक्सानीमै गए,’ उनले भने, ‘दोस्रो त्रैमाससम्म कम्पनीहरू नोक्सानीमै हुन सक्छन् । तेस्रो त्रैमासपछि भने केही सुधार आउला । किनकि, त्यसवेलासम्म दाबी भुक्तानी भइसकेको हुन्छ । अहिले बिमितले गरेको दाबी रकमअनुसार प्रोभिजनिङ राखिएको छ । सर्भे सकिँदा दाबीयोग्य दायित्व घट्न सक्छ । कम्पनीहरूले नियमित आम्दानी पनि गर्छन् । तेसो गर्दा तेस्रो त्रैमासदेखि सुधार आउँछ । असार मसान्तसम्म पुग्दा अधिकांश कम्पनी नाफामा जान सक्छन् । तर, नाफा रकम भने धेरै हुँदैन । अहिलेको घाटाको वित्तीय विवरण आर्थिक वर्षान्तसम्म पुग्दा नाफामा मात्रै पुग्छ भन्ने आशा छ ।’
नाफामा गए पनि लाभांश बाँड्न सक्ने अवस्था हुने कि नहुनेबारे अहिले केही भन्न नसकिने उनले बताए । ‘यद्यपि, हाम्रो पहिलो दायित्व बिमितलाई दाबी भुक्तानी दिनु हो । त्यसमा भने हामी सक्षम छौँ,’ उनले बताए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ चंकी क्षेत्री भन्छन्– ब्याजदर, जेन–जी आन्दोलनको क्षति र पछिल्लो बाढीले कम्पनीहरूको नाफा प्रभावित भएको हो । सोही कारण १२ कम्पनी घाटामै गएका छन् । नाफा कमाउनेको रकम पनि थोरै नै रहेको छ । बिमा कम्पनीहरूले आफ्नो लगानीयोग्य पुँजी अधिकांश बैंकको मुद्दतीमा राख्छन् । बैंकले दिने ब्याज नै उनीहरूको मुख्य आम्दानी हो । तर, पछिल्लो समय निरन्तर ब्याजदर घट्दै आएपछि कम्पनीहरूको नाफा प्रभावित भएको छ । लगानी आम्दानी ६०–७० प्रतिशतले घटेको छ । त्यसले कम्पनीहरूको नाफा स्वतः प्रभावित भयो ।