सन् २०२४ को लोकसभा चुनावमा मात्र २४० सिट जितेपछि भाजपा हौसिएको इन्डिया गठबन्धनका लागि राजनीतिक गति पुनः प्राप्त गर्न बिहारको विधानसभा चुनाव महत्वपूर्ण थियो । तर, भाजपाका लागि भने बिहारको चुनाव ‘इन्डिया’का लागि भन्दा महŒवपूर्ण अर्थ राख्छ । लोकसभा चुनावमा ४० सिट रहेको बिहार हिन्दीभाषी क्षेत्रको एक मात्र त्यस्तो राज्य हो, जहाँ उसको पूर्ण पकड छैन ।
छिमेकी उत्तर प्रदेशमा सन् २०१७ देखि एक कट्टरपन्थी, गेरुवस्त्र लगाएर हिँड्ने हिन्दु धार्मिक गुरु (योगी आदित्यनाथ) मुख्यमन्त्री छन् । अन्य उत्तर भारतीय राज्यमा भाजपा यति बलियो छ कि त्यहाँका मुख्यमन्त्रीलाई कहिलेकाहीँ ‘ह्वाट्सएप सिएम’ भनेर व्यंग्य गरिन्छ । अर्थात्, यस्तो मुख्यमन्त्री जो दिल्लीमा बसेका भाजपाका शीर्ष नेतृत्वको सन्देश लिएर मात्र चल्छन् । यसमा ओडिसाका मोहनचरण माझी, मध्यप्रदेशका मोहन यादव, उत्तराखण्डका पुष्करसिंह धामी, गुजरातका भूपेन्द्र पटेल, हरियाणाका नयव सिंह सैनी र राजस्थानका भजनाल शर्मालगायत नेताले ह्वाट्सएप सिएमका रूपमा काम गरेर यस महत्वपूर्ण पदको अपमान गरिरहेका छन् ।
हुन त बिहारमा नीतीश भाजपासँग गठबन्धनमा छन्, तैपनि भाजपा उनीमाथि हाबी हुन सक्दैन । नीतीशको आफ्नै बलियो सामाजिक आधार छ । जसले उनको आफ्नो व्यक्तित्वमाथि गठबन्धनका बाबजुद भाजपा हाबी हुन सकेको छैन ।बिहारमा मुस्लिम र इबिसीहरूको एक महत्वपूर्ण हिस्सा जो कहिल्यै भाजपामाथि विश्वास गर्न सक्दैन, तिनको साथ नीतीशलाई छ ।
अहिले हिन्दीभाषी क्षेत्रमा नीतीश एक मात्र त्यस्ता मुख्यमन्त्री हुन्, जसले भाजपा नेतृत्वको चाहनालाई पूर्ण बेवास्ता गर्न सक्छन्
नीतीश उल्लिखित मुख्यमन्त्रीजस्तो दिल्लीका ह्वाट्सएप सन्देशलाई मान्नुको साटो बेवास्ता गर्छन् । यसले गर्दा उनीप्रति भित्री रूपमा भाजपा पूर्ण सन्तुष्ट छैन । जनता दल (संयुक्त) अर्थात् जेडी(यू) करिब २५ वर्षदेखि भाजपाको सहयोगी भएर पनि उसको पिछलग्गु भएको छैन । र, पटक–पटक दल अदलबदलमार्फत पनि नीतीश कुमारविरुद्ध भाजपाले अन्य क्षेत्रमा लागू गरेको रणनीति लागू गर्न सकेको छैन ।
उसो त बिहारमा भाजपा अहिलेसम्म मुख्य पद (मुख्यमन्त्री)मा पुग्न सकेको छैन । त्यहाँको राजनीतिक वास्तविकताकै कारण यति लामो समयसम्म नीतीश कुमार मुख्यमन्त्री बन्न सकेका हुन् । त्यहाँ उत्तर प्रदेशमा बहुजन समाज पार्टी (बसपा) भएजस्तो तेस्रो शक्ति नहँुदा भाजपालाई फरक गठबन्धनको डर देखाएर नीतीशमाथि डर बनाइराख्ने बाटो पनि छैन ।
जबकि, भाजपाले उत्तर प्रदेशमा तीनपटक असफल दलसँग गठबन्धन बनाएर आफूलाई प्रभूत्वमा राख्न सक्षम भएको छ । मायावती नेतृत्वको बसपासँग नजिकिएर उसले सफलतापूर्वक समाजवादी पार्टीको आँधीबेहरीलाई निस्तेज पार्न सक्यो ।
बिहारमा भाजपाको बफादार मत आधार भनेका राज्यका उच्च जाति हुन् । तिनको मात्र मतले बहुमत ल्याउन कठिन छ । बहुमत ल्याउन आवश्यक मुस्लिम तथा निम्न जातिलाई लोभ्याउन सक्ने शक्ति नीतीश कुमारमा छ । बिहारमा यो वर्गको जनसंख्या ३६ प्रतिशत रहेको मानिन्छ ।
नीतीश र भाजपाबिचको दरार यही चुनावअघि धेरै आलोचनाको बाबजुद एनडिएले नीतीशलाई मुख्यमन्त्री उम्मेदवार घोषणा नगरेबाट पनि देखिएको थियो । बिहारमा आफ्नै दलको मुख्यमन्त्री बनाउन भाजपाले धेरै पहिलेदेखि प्रयास गरिरहेको हो । उत्तर प्रदेशका आदित्यनाथ अन्य भाजपा मुख्यमन्त्रीहरूभन्दा बढी चर्चित भएर कहिलेकाहीँ ‘मोदीका उत्तराधिकारी’ भएको चर्चा चलिरहँदा उनीप्रति भाजपाको शीर्ष नेतृत्व खुसी नभएको अब लुकेको विषय रहेन ।
दिल्लीको भाजपा नेतृत्व आदित्यनाथको महत्वाकांक्षामाथि ‘अंकुश लगाउन चाहन्छ’ । सम्भवतः भाजपाको केन्द्रीय नेतृत्व आदित्यनाथलाई प्रतिस्पर्धा दिन सक्ने अर्को वैचारिक रूपमा प्रतिबद्ध नेता छिमेकी बिहारमा मुख्यमन्त्री बनाउन चाहन्छ ।
बिहारमा नीतीशको मतका आधारमा मुस्लिम धर्मावलम्बी पनि पर्छन् । त्यसैले गर्दा भाजपाले अन्य राज्यमा यहाँ जसरी हिन्दु–बनाम–मुस्लिमको राजनीति प्रयोग गर्न सक्दैन । विशेषतः जेडी(यू)को नेतृत्वमा सरकार रहेसम्म त त्यो सम्भव छैन ।
भाजपाको नेतृत्वमा मुख्यमन्त्री पद रह्यो भने मात्र पार्टीले आफ्नो विचारधारा सहज रूपमा कार्यान्वयन गर्न सक्छ । त्यसपछि मात्र अन्य भाजपा शासित राज्यमा जस्तै उसले इतिहासका पुस्तकमा आफूले चाहेको बदलाव गर्ने र संघ परिवारले चाहेको पारिस्थितिक वातावरण सिर्जना हुन सक्छ । त्यसपछि मात्र बिहार युपी वा उत्तराखण्डजस्तै हुन सक्छ । तर, नीतीश कुमार मुख्यमन्त्री रहेकाले यो काम अहिले सम्भव देखिएको छैन ।
तर, भाजपा–जेडी(यू) गठबन्धनको फाइदा जेडी(यू)ले बिहारमा मुख्यमन्त्री पाउने कुरामा मात्र सीमित छैन । आज केन्द्रमा जेडी(यू)कै साथले मोदीको प्रधानमन्त्री पद सम्भव बनेको हो । जेडी(यू)को महत्वपूर्ण १२ सांसदको साथ नहुने हो भने दिल्लीमा भाजपा अल्पसंख्यामा पर्छ । त्यस्तै, संवेदनशील राज्य मणिपुरमा नोभेम्बर २०२४ देखि अन्य सहयोगीले भाजपा सरकारको साथ त्याग्दा जेडी(यू)ले ६ जना विधायकमार्फत साथ दिइरहेको छ । त्यसैले बिहारमा नीतीशलाई धोका दिँदा यी दुई मोर्चामा पनि असर पर्छ भन्ने भाजपालाई थाहा छ ।
तर, बिहारमा भाजपाका लागि पहिलदेखिको चुनौती, नीतीश कुमारको लगभग अधीनमै बस्नुपर्ने खालको समीकरणलाई उल्ट्याउने र राजनीतिक रूपमा आफ्नो हात माथि पार्ने हो । यसैले यी सबबिच अहिलेको निर्वाचनमा बिहारको सबैभन्दा ठुलो दलको रूपमा उदाउँदासमेत भाजपाले नीतीशकै मुख्यमन्त्री स्विकार्नुपर्ने देखिन्छ । (बिबिसी, द न्यु इन्डियन एक्सप्रेसलगायतमा काम गरिसकेकी चिस्ती हाल दिल्लीमा रहेर पत्रकारिता र लेखन कार्यमा सक्रिय छिन्)
द वायरबाट