जेन–जीको प्रदर्शनपछि पार्टी र सत्ता राजनीतिमा युवा अगाडि आउनुपर्छ भन्ने नारा बढी चर्चामा रह्यो । तर, हामीले कस्ता युवा खोजेका हौँ ? के उमेर कम भएको युवा मात्र पार्टी र सत्ता राजनीतिमा खोजिएको हो ? कस्तो युवा चाहिएको हो नेपाली दलीय र सरकारी सत्तामा ? प्रश्न धेरै छन् । कतिपय सन्दर्भमा पार्टीमा नलागेको ‘स्वतन्त्र युवा’को माग गरेको सुनिन्छ । कस्तोलाई स्वतन्त्र भन्ने हो ? राजनीतिक दल र ‘राजनीतिबाट माथि उठेको’, देशलाई माया गर्ने युवा चाहियो भनिएको पनि सुनिन्छ ।
कसरी पहिचान गर्ने त्यस्तो मान्छे ? राजनीतीशास्त्रको आँखाबाट अध्ययन र विश्लेषण गर्ने हो भने सत्ता, सरकार, संविधान र शासन भनेकै राजनीतिक निकाय, अंग र क्षेत्रका विषय हुन् । कुनै खास विषय र समयमा कोही मानिस बोल्दैन र विचारसमेत राख्दैन भने पनि त्यसले त्यो अवस्थामा कुनै नै कुनै विचार, समूह र राजनीतिक शक्तिलाई समर्थन गरेकै हुन्छ भन्ने मान्यता राजनीतीशास्त्रीय दार्शनिकको छ । अर्थात्, राजनीतिबाट मानिस टाढा हुनै सक्दैन । ग्रिक दार्शनिक प्लेटोले मानिस जन्मजात नै राजनीतिक प्राणी भएको भन्ने विचार दिएका छन् ।
राजनीति नीतिको पनि नीति हो । दर्शनको पनि आधारभूत दर्शन हो । राज्य सञ्चालन गर्ने मूल नीति राजनीति नै हो । यस्तो नीतिबारे सचेत हुनु सबैका लागि आवश्यक भए पनि राजनीतिक दल, संगठन वा समूहमा लाग्ने वा नलाग्ने भन्नेचाहिँ व्यक्तिको निजी चाहनाको विषय हो । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (१९६६) ले राजनीतिक विचार राख्ने, संगठन खोल्ने, कुनै दलमा लाग्ने र अभिव्यक्तिको स्वतन्त्रताजस्ता विषय मानिसको मानव अधिकार तथा राजनीतिक स्वतन्त्रताको विषय हो भन्ने प्रस्ट गरेको छ ।
जननिर्वाचित प्रतिनिधि र सत्ता राजनीतिको बागडोर सम्हाल्नेहरूले सुशासनलाई प्राथमिकतामा राखिदिएको भए मुुलुकमा युवा आक्रोश र हिंसाका घटना हुने नै थिएनन्
सत्ता राजनीतिमा आएको परिवर्तनपछिको नयाँ परिस्थितिमा नेपाली राजनीतिमा युवा हुनुपर्ने, युवालाई नेतृत्व हस्तान्तरण गरिनुपर्ने र शासनमा युवा आउनुपर्ने भन्ने विषय जोडतोडले उठाइएका छन् । सिद्धान्ततः यी विषय ठिक भए पनि केवल उमेरमा मात्र कम भएका युवा हामीलाई चाहिएको हो ? योचाहिँ मूल सवाल हो । राजनीति राज्य सञ्चालन गर्ने नीति भएकाले त्यस्तो नीति सञ्चालन गर्ने र नागरिक परिचालन गर्ने नेतृत्वमा रहने व्यक्तिमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक, कानुनी, भौगोलिक, व्यावहारिक, मानवीय तथा समग्र ज्ञान हुनुपर्छ । साथै, त्यस्तो नेतृत्व कतिपय खालका राजनीतिक द्वन्द्व व्यवस्थापनको ज्ञान र कला, नागरिक अधिकार तथा स्वतन्त्रताको पक्षपाती पनि हुनुपर्छ ।
नागरिकका राजनीतिक, सामाजिक र सार्वजनिक सरोकारका अनेकौँ मुद्दाको बहुआयामिक ज्ञान पनि उसमा चाहिन्छ । समाजलाई विखण्डन होइन, एकीकृत गर्न सक्ने सामथ्र्य नभएको व्यक्ति नेता बन्नै सक्दैन । यसका साथै, नेतामा संगठन, कला, ज्ञान र सीप हुनुपछै । यी ज्ञान भएनन् र त्यसअनुकूल समाजलाई अघि बढाउन सक्ने सांगठनिक क्षमता भएन भने उत्तेजक, अराजक, आक्रामक र निजी धारणा बोल्ने युवाले मुलुकको राजनीतिक, सामाजिक र सार्वजनिक हितको सम्बोधन गर्नै सक्दैन ।
राजनीतिक दर्शन, सिद्धान्त, भूराजनीतिक अनुभव, इतिहास, वस्तुगत आवश्यकता, मुलुक र समाजको क्षमता, अवस्था, आवश्यकता र संवैधानिक तथा राजनीतिक मार्गबाहिरका निजी आग्रह, विचार र चाहनाको राजनीतिमा कुनै अर्थ हुँदैन । त्यस्तो निजी धारणा र विचार बोल्न कुनै पनि राजनीतिक, वैचारिक र दृष्टिकोण भएको मानिस नभए पनि हुन्छ । बाटामा मकै पोल्ने वा असनको गल्लीमा घाममा गोडा पल्टाएर सुतेको मानिसले पनि आफ्नो चाहनाको निजी विचारचाहिँ राख्न सक्छ । जुन विचार र दृष्टिकोणको सार्वजनिक, सामाजिक र राष्ट्रिय राजनीतिसँग कुनै साइनो या सम्बन्ध हुँदैन । त्यस्तो खालको निजी कुरा चर्काे स्वरले बोल्ने युवा हामीलाई चाहिएको होइन ।
राजनीतिक क्रान्ति र परिवर्तनपछि नागरिकले गर्ने पहिलो अपेक्षा भनेको सुशासन, सुरक्षा र विकास हो । विश्वमा भएका राजनीतिक क्रान्तिमा पनि त्यस्तो देखिन्छ । सन् १२१५ मा बेलायती राजा जोन (११६६–१२१६) द्वारा नागरिकको दैनिक जीवनमाथि हुने गरेका हस्तक्षेपबाट आजित भएर नागरिक विद्रोह भएपछि राजाले बाध्य भएर म्याग्नाकार्टा नामको कानुन ल्याउनुप¥यो । यहीँबाट बेलायतले विकास, सुशासन र समृद्धिको मार्ग पहिल्यायो । सन् १७७६ को अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्समा सन् १७८९ मा भएको फ्रान्सेली क्रान्ति, अमेरिकी संविधान (१७८९), भारतको स्वतन्त्रता संग्राम (१९४७) तथा दक्षिण अफ्रिकी राजनीतिक परिवर्तन (१९९०) जस्ता विश्वमा प्रभावशाली सिद्ध भएका क्रान्ति तथा परिवर्तनपछि ती मुलुकमा समेत सुशासन र सुरक्षा नै जरुरी मुद्दा बने ।
२३ र २४ भदौ, ०८२ मा जेन–जी प्रदर्शन हुनुमा सुशासन र नागरिक अधिकारको मुद्दा पेचिलो रह्यो । विचार, दर्शन, सिद्धान्त र संगठनद्वारा निर्देशित नभएका युवालाई तत्कालै आमूल परिवर्तन चाहिन्छ । तर, भूराजनीतिमा हेर्ने हो भने ‘झट आन्दोलन, पट परिवर्तन’ भएको विश्व इतिहास छैन । ठुलो भिड, भौतिक संरचनाको क्षति र हिंसा मात्र पनि आन्दोलन होइन । भारतमा ‘ब्रिटिस भारत छोडो’ आन्दोलनमा सन् १९४२ देखि सन् १९४७ को अवधिमा महात्मा गान्धीको नेतृत्वमा सानो समूहका साथ शान्तिपूर्ण आन्दोलन भयो । जसमा गान्धीको विचार, दृष्टिकोण, मुद्दा, अभियान, सादगी जीवन, चरित्र, निष्ठा, त्याग र शान्तिपूर्वक गरिएको निरन्तरको कार्यले सफलता पायो । दक्षिण अफ्रिकामा पनि शान्तिपूर्ण मार्गबाटै सन् १९९० मा राजनीतिक परिवर्तन सम्भव भयो ।
नेपालमा २०५२–०६२ सम्म भएको सशस्त्र युद्ध हिंसाको बलमा अगाडि आयो । अर्थात्, जननिर्वाचित प्रतिनिधि र सत्ता राजनीतिको बागडोर सम्हाल्नेहरूले सुशासनलाई प्राथमिकतामा राखेको भए मुुलुकमा युवा आक्रोश र हिंसाका घटना हुने थिएनन् । सुशासन न्यून भएका कारण नै भ्रष्टाचार न्यूनीकरण चुनौती बन्दै आयो । विश्वमा त्यस्ता धेरै देश छन्, जहाँ राजनीतिक परिवर्तनपछि पनि सुशासन र सुरक्षाको अपेक्षा पूर्ति नहुँदा पुनः विद्रोह भएका छन् ।
सन् २०१३ पछि सत्तामा आएका भेनेजुएलाका राष्ट्रपति ह्युगो चाबेजलाई त्यहाँ सुशासन र परिवर्तनको नायक मानियो । राष्ट्रवादी उग्र भाषण गर्दै सत्तामा आएपछि उनीबाट मुलुकमा व्यापक सुधारको अपेक्षा गरियो । तथापि, भेनेजुएला सर्वाधिक भ्रष्ट, कुशासन, गरिब र चरम राजनीतिक द्वन्द्वले देशको सुरक्षा भताभुंग भयो । युक्रेनमा राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबाट विकास, सुरक्षा, सुशासन तथा परिवर्तनको अपेक्षा राखिएको भए पनि उनको उग्र राष्ट्रवादी नीतिले देशै ध्वस्त बन्दै छ । सन् २०२२ फेब्रुअरी २४ देखि रुसी सैन्य आक्रमणको सामना गर्दै छ ।
पाकिस्तानमा सन् २०१८–२२ को अवधिमा परम्परागत पार्टीलाई ‘चोर’को आरोप लगाएर नायकत्वको भूमिकासहित सत्ता राजनीतिमा आएका इमरान खान आफैँ भ्रष्टाचारमा मुछिए । भारतको नयाँदिल्लीमा भ्रष्टाचारको मुद्दा उठाएर सत्तामा आएका ‘नायक पात्र’ अरविन्द केजरिवाल सन् २०१३ देखि सन् २०२४ सम्म मुख्यमन्त्री रहे । तर, दिल्लीको आर्थिक, व्यावसायिक र समग्र अवस्थामा तात्विक सुधार र परिवर्तन भएन । सन् २०२५ नोभेम्बरमा भएको बिहार राज्यको २४३ सदस्यीय विधानसभा निर्वाचनमा बिहारी युवाले परम्परागत भारतीय जनता पार्टी (भाजपा) सहित मुख्यमन्त्री नितिश कुमारको जेडियूलाई नै दुईतिहाइभन्दा बढी सिटमा विजयी गराए । बिहारमा नागरिकले सुरक्षा, सुशासन र विकासको अनुभूति भाजपा गठबन्धनबाट हुने विश्वास गरेका छन् ।
केही महिनापूर्व नागरिकले सुशासन र विकासको संवाहक भनेर चुनेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक यलले उल्टो नागरिक स्वतन्त्रता खोसेर निरंकुशता लाद्न खोजेपछि युवा आक्रोश चुलिएको थियो । अर्थात्, नागरिकले सुशासन, समृद्धि र आधारभूत सुरक्षाको अनुभूति गर्न सकेनन् भने शासन सत्तामाथि प्रश्न उठ्न थाल्ने यथार्थ विश्व अनुभवले मात्र होइन, नेपालको आफ्नै जेन–जी आन्दोलनको अनुभवबाट पुष्टि भयो ।
यसरी विश्व र नेपालको अनुभवलाई विश्लेषण गर्दा पार्टी र सत्ता राजनीतिमा ऊर्जावान् युवा चाहिएको हो, उमेरमा कम भएका युवा मात्र नेतृत्वमा चाहिएको होइन । भूराजनीतिक अनुभवलाई विश्लेषण गर्ने हो भने पनि अमेरिकामा सन् २०१६ र सन् २०२४ मा विजयी राष्ट्रपति डोनाल्ड ट्रम्प ७९ वर्ष, रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन ७३ वर्ष, तीनपटक प्रधानमन्त्रीमा विजयी भएर सत्तामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७५ वर्ष, चीनका राष्ट्रपति सी जिनपिङ ७२ वर्ष पूरा भएका भए पनि पार्टी र सत्ता राजनीतिमा कुशल देखिन्छन् । ती मुलुक विकास, समृद्धि, सुशासन र भूराजनीतिक शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण छन् ।
सिंगापुर, मलेसिया, इन्डोनेसिया आदि मुलुकको सत्ता नेतृत्व हेर्ने हो भने पनि कम उमेरका राजनीतिक नेतृत्वबाट मात्र सञ्चालन भएको इतिहास छैन । नेपाली पार्टी र सत्तामा युवा खोज्नु, युवा हुनु र युवा आवश्यकताको आवाज आफैँमा ठिक भए पनि केवल उमेरमा युवा चाहिएको होइन । पार्टी र सत्ता राजनीतिको नेतृत्व सम्हाल्छु भन्ने युवामाथि उल्लिखित राजनीति, सार्वजनिक, भूराजनीतिक, कूटनीतिक, कानुनी र नेपालको भौगोलिक ज्ञान भएको हुनु आवश्यक छ । नेपाल र विश्व बुझेको हुनुपर्छ । निजी धारणा मात्र होइन, राजनीतीशास्त्रीय, दार्शनिक, वैचारिक ज्ञानसहितको संगठन हुनु आवश्यक छ । नेताले नेपाल र नेपालीको आवाज बोल्नु सक्नुपर्छ । त्यसो भएन भने उमेरमा मात्र युवा हुनुले नेपाली राजनीतिमा तात्विक फरक पार्नेछैन ।
(डा. सिलवाल अधिवक्ता हुन्)