जेन–जी आन्दोलनमा लुटेको प्रहरीको हतियारसहित थप दुईजना पक्राउ

हालसम्म ४५ जना पक्राउ

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित प्रहरीले थप दुई जनालाई पोखराबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–५ जिरो किलोमिटर बस्ने ३१ वर्षका श्यामबहादुर तमाङ र पोखरा– २ बस्ने २२ वर्षका सागर राउत रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

आन्दोलनको क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिहरूको खोजतलास, पहिचान एवं अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले तामाङ र राउतलाई एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान, काठको बटको भाग एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको बस्नेतले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा आईतबार पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

हालसम्म ४५ जना पक्राउ
आन्दोलनको क्रममा सरकारी कार्यालयहरू, निजी सम्पत्ति, सार्वजनिक स्थानमा तोडफोड, आगजनीसँगै प्रहरीको हातहतियार लुटपाट गरेको आरोपमा कास्कीबाट ४५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बस्नेतले जानकारी दिए । पक्राउ परेका उनीहरूमध्ये १६ जना धरौटी तारेखमा छुटेका र अन्य २९ जना प्रहरी हिरासतमा रहेका छन् ।

प्रहरीले लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेको बस्नेतले बताए । पक्राउ परेकाहरूलाई केहीलाई आपराधिक उपद्रव र केहीलाई हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिको बारेमा जानकारी दिन सर्वसाधारणसँग सार्वजनिक अपिल समेत गरेको छ ।
 

सुझावित समाचार