निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल भवनलाई बजेट अभाव

चालु आवलाई विनियोजित रकम बक्यौता तिर्दैमा सक्कियो, तत्काल २५ करोड बजेट माग

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

बुटवलस्थित निर्माणधीन लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणान बजेट अभाव भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजित एक अर्ब रुपैयाँमध्ये जम्मा सात करोड मात्रै बाँकी रहेको तर निर्माण कम्पनीले चालु आवको कार्मप्रगतिका आधारमा करिब २५ करोड रुपैयाँ भुक्तानीका लागि विल पेश गरेको छ । निर्माण कम्पनीलाई दिनुपर्ने रकम समेत कम रहेको अवस्थामा चालु आर्थिक वर्षमा थप काम गर्न झण्डै एक अर्ब बजेट निकासा भए सहज हुने आयोजनाले जनाएको छ ।

२५ करोड भुक्तानी गर्नुपर्ने देखिएकाले ५० करोडभन्दा बढी निकासा भए सहज हुने आयोजनाका इन्जिनियरहरु बताउँछन् । भवनको हालसम्म ३० प्रतिशत भौतिक र २६ दशमलव ६२ प्रतिशत वित्तिय प्रगति भएको छ । लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यस किसिमको प्रगति हुनुलाई सन्तोषजनक मान्न सकिन्छ । निर्धारित समयभन्दा पहिले नै योजना सम्पन्न गर्नेगरी काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छविराज पोख्रेलले दाबी गरे ।  

१२ तलाको अत्याधुनिक सुविधासहितको अस्पताल बनाउन २६ पुस ०८० मा प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको आठ महिनापछि १५ भदौ ०८१ मा मात्र भवनको शिलान्यास गरी निर्माण अगाडि बढाइएको थियो। हाल निर्माणस्थलमा करिब तीन सय जनशक्ति परिचालन गरिएको छ ।

सुविधासम्पन्न दुईवटा भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले ६ अर्ब १८ करोड ७५ लाख  रूपैयाँमा ठेक्का सम्झौता गरेका थिए। ठेक्का सम्झौताअनुसार पाँच वर्ष अर्थात् २५ पुस ०८५ भित्र भवन निर्माण पूरा गर्नुपर्ने सर्त छ।

भवन निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा छुट्टाएको बजेट पहिलो चार महिनामै सकिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८२/०८३ मा भवन निर्माणका लागि एक अर्ब रूपैयाँ विनियोजन गरेको थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षमा भएको कामको भुक्तानीमै सकिएपछि चालु वर्षका लागि बजेट अभाव भएको हो।

प्रदेश सरकारको गौरवको आयोजना भनिए पनि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि निर्माण कम्पनीले उधारोमै काम गरिरहेको छ । पोखरेलका अनुसार सरकारले विनियोजन गरेको एक अर्ब रूपैयाँमध्ये ९३ करोड रूपैयाँ खर्च भइसकेको छ । कात्तिकसम्म सम्पन्न कामको अझै २५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । उनका अनुसार भवन निर्माणका लागि रकम अभाव भएपछि प्रदेश सरकारसँग चालु वर्षका लागि थप बजेट माग गरिएको छ ।  

सिद्धार्थ राजमार्गसँगै जोडिएको कुल ६ बिगाह १२ कट्ठा जमिनमा २०१६ सालमा बनेका पुराना संरचना भत्काएर १२ तलाको मुख्य भवन र क्यान्सर भवन निर्माण थालिएको हो। यसअघि निर्माण गरिएका डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति, महिला तथा बाल रोग, जनरल वार्ड र शल्यक्रिया भवनहरू भने यथावत् राखिएका छन् ।

निर्माणधीन भवनमा हेलिप्याडसहितको सुविधा 
प्रादेशिक अस्पताललाई १२ सय बेडको बनाउने लक्ष्यसहित दुर्इवटा नयाँ भवन बनाउने काम अगाडी बढाइएको हो । दुई तहको बेसमेन्ट भएको सात सय शैयाको १० तले मुख्य भवन (अण्डरग्राउण्डसहित १२ तले), भवन र अर्को एक तहको बेसमेन्टसहित ५ तले १०० शैया क्षमताको क्यान्सर उपचार भवन निर्माण अगाडी बढाइएको छ  ।

नयाँ भवनको सबभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाट सिँधै इमर्जेन्सी वार्डमा आउजाउ गर्न मिल्ने लिफ्ट पनि निर्माण हुनेछ । 

सुझावित समाचार