फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा १७ लाख ६० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्न कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी दुवै पक्षबिच सम्झौतासमेत भएको छ ।
सम्झौतापत्रमा फेदीखोला हाइड्रोका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका हुन् ।
कम्पनीका अनुसार अधिकृत तथा जारी पुँजीको ८० करोड छ । यसको २२ प्रतिशत आइपिओ प्रतिकित्ता एक सय अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष योजना, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणमा निष्कासन हुनेछ ।
कम्पनीले भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका– ६ मा बग्ने फेदी (थुमलुङ) खोलामा ४.३ मेगावाटको आयोजना निर्माण भइरहेको छ । आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ ।