कबाडी करको नाममा अवैध रकम असुली

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाटमा भारतीय मालबाहक सवारी साधनबाट अवैध रुपमा रकम असुल गरिएको खुलेको छ। वीरगन्जकै अमित ठेक्का पट्टाका कर्मचारीहरूले कबाडी कर को नाममा खाली गाडीहरूबाट समेत गैरकानुनीरुपमा रकम उठाइरहेको पाइएको हो।

ठेकदार कम्पनीले “जडीबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने अधिकार पाएको भए पनि सोही नाममा दिनदहाडै रंगदारीजस्तै कर असुली भइरहेको चालकहरूले आशंका व्यक्त गरेका छन्। उनका अनुसार वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सालाई पटक–पटक जानकारी दिँदा पनि कुनै ठोस कारबाही भएको छैन।

कानुनअनुसार कुनै पनि राजमार्गमा स्थानीय तहले ठेक्का लगाई कर असुल्न नपाउने व्यवस्था छ। तर महानगरपालिकासँगको सम्झौताविपरीत ढाटका कर्मचारीहरूले गैरकानुनी रूपमा कर उठाइरहेका हुन्। सम्झौताअनुसार उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्रै कर लिन पाउने व्यवस्था छ। यद्यपि भारतीय तथा नेपाली मालबाहक सवारी दुबैबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुल गरिँदै आएको छ।

ढाटका कर्मचारीहरूले ४ सय रुपैयाँको रसिद दिए पनि वास्तविक रूपमा २८० भारतीय रुपैयाँ लिने गरेका छन्, जसको नेपाली रूपान्तरण करिब ४४८ रुपैयाँ पर्छ। अवैध असुली नदिने सवारी चालकहरूमाथि दुव्र्यवहार, कुटपिट र झगडा हुने घटनाहरू बढिरहेका चालकहरूको गुनासो छ। केही दिनअघि अवैध असुलीको विरोध गर्ने क्रममा एक ज्येष्ठ नागरिकसमेत कुटपिटमा परेका थिए।

जेनजी आन्दोलनपछि परिवर्तनको अपेक्षा गरेका स्थानीयवासीले अवस्था झनै बेकाबु बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले पछिल्ला दिनमा अवैध असुलीबारे आफूले पनि गुनासो सुनेको बताए। उनका अनुसार अवैध रुपमा रकम उठाउनेहरूसँग उठाइएको रकम फिर्ता गराइसकिएको र निगरानी कडा बनाइएको जानकारी दिए।

सुझावित समाचार