धनकुटाको विघठित एकिकृत समाजवादी पार्टी नेकपा एमालेमा समाहित भएको छ । एकिकृत समाजवादी पार्टी धनकुटाले शुक्रबार पत्रकार सम्मेलनमार्फत एमालेमा समाहित भएको जनाएको छ ।
सिंगो पार्टी नै एमालेमा सम्माहित हुने निर्णय गरिएको पार्टीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य अर्जुन राईले बताए । तत्कालिन नेकपा माओवादी केन्द्र र समाजवादी सहित विभिन्न राजनीतिक दलहरुका बीचमा एकता भई नयाँ पार्टी गठन भएको र उक्त पार्टीमा नजाने निर्णय गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,‘नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेमा एकिकृत समाजवादी पार्टी समाहित हुने निर्णय गरिएको छ ।’ जेनजी आन्दोलन पश्चात् उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित घटनाक्रमबाट सृर्जित चुनौति तथा नेपाली जनताको परिवर्तन, समृद्धिको आंकाक्षा पुरा गर्ने जनउत्तरदायी राष्ट्रिय शक्तिको आवश्यकता महसुस गर्दै आजैका दिनदेखि नेकपा एमालेमा समाहित हुने निर्णय गरिएको पार्टीका जिल्ला अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेवी राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।