नेपालमा बिजनेस भिसामा बसेर शंकास्पद गतिविधिमा संलग्न चार चिनियाँ पक्राउ परेका छन्। अध्यागमन विभागले शुक्रबार सोह्रखुट्टेको मिलिजुली चोकबाट एक महिला र तीन पुरुष चिनियाँलाई पक्राउ गरेको हो ।
उनीहरूले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीलाई जागिरको प्रलोभनमा पारी सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत अन्य चिनियाँसँग साथी बनाई बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताए। केही नेपाली युवतीलाई चीनमा लगेर बिहे गर्ने भनी चीनसमेत पठाएको जानकारी प्राप्त भएको विभागले जनाएको छ। म्हैपीमा घर भाडामा लिएर नेपाली युवतीहरू राख्ने गरेका थिए।
नियन्त्रणमा लिइएकामध्ये दुईजना विगत १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र बिजनेस भिसा लिएर बस्दै आएका थिए। भिसा जाँच गर्ने क्रममा उनीहरूले अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरूलाई दुर्व्यवहारसमेत गरेका थिए।
अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ । अध्यागमन नियमावली, २०५१ मा विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइनेछैन भन्ने व्यवस्था छ । यसरी गैरकानुनी रूपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने कानुनी व्यवस्था छ ।
नेपालमा लामो समय बसेर शंकास्पद गतिविधिमा संलग्नमाथि पछिल्लो समय अध्यागमन विभागले कारबाहीलाई तीव्रता दिएको छ।