- पोखराविरुद्धको महत्वपूर्ण खेलमा एक सेट गुमाएको काठमाडौं फाइनल होडबाट बाहिरिएको छ । धेरै सेटमा विजयी भएको ललितपुर क्विन्सले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले पोखरा निन्जाजलाई ३–१ ले हराएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार काठमाडौंले जित निकाले पनि फाइनलमा स्थान बनाउन सकेन । काठमाडौंले पोखराविरुद्ध एक सेट गुमाएका कारण अन्तिम दुईको दौडबाट बाहिरिएको हो । काठमाडौंले प्रतिस्पर्धामा एक सेट गुमाउँदा दोस्रो स्थानमा रहेको ललितपुर क्विन्स फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा ललितपुरले फाइनल पुगिसकेको कर्णाली यसविसविरुद्ध खेल्नेछ ।
यस खेलमा पराजित भए पनि सेटका आधारमा उपाधि भिडन्तमा ललितपुरले कर्णालीविरुद्ध नै प्रतिस्पर्धा गर्नेछ । लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्सको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ । चार खेलमा ६ सेट विजयी रहँदा काठमाडौंले आठ सेट गुमायो । ललितपुले चार खेलमा नौ सेट जित्दा तीन खेलमा हारको सामना गरेको छ । काठमाडौंले पोखराविरुद्ध २५–१९, २५–१७, १२–२५ र २५–१८ ले जित हात पारेको थियो । काठमाडौंको जितमा उषा भण्डारीको प्रदर्शन
उत्कृष्ट रह्यो । पहिलो सेटको प्रदर्शनलाई निरन्तरता दिँदै काठमाडौंले दोस्रो सेटमा पोखरालाई पुनरागमनको अवसर दिएन । तर, तेस्रो सेटमा काठमाडौंमाथि पोखरा हाबी भयो । पोखराले काठमाडौंलाई तेस्रो सेटमा सुरुदेखि नै दबाबमा राखेको थियो । जसका कारण पोखरा २५–१२ ले विजयी भयो । यद्यपि, चौथो सेटमा भने पोखराले उत्कृष्ट प्रदर्शन गर्न सकेन ।
काठमाडौंले चार खेलबाट ६ अंक बनाएको छ । काठमाडौं लिगको तेस्रो स्थानमा पुगेको छ । लिगमा खराब प्रदर्शन जारी राखेको पोखराले चार खेल गुमाएको छ । यद्यपि, सेटका आधारमा पोखराले ४ अंक जोडेको छ । अर्को खेलमा लुम्बिनी लाभाजले मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको छ ।