खोटाङ गुरुङ युवा समूहले पहिलोपटक ‘तमु भेडा कप’ फुटबल आयोजना गरेका छन्। दुई दिनसम्म चल्ने खेलमा मुलुकभरका तमु खेलाडी सहभागी हुनेछन्। खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेका छन्।
खोटाङ गुरुङ तमु सेवा समाजका कोषाध्यक्ष तथा आयोजक कालुराम गुरुङले खेलमा मुलुकभरका २४ टिम प्रतिस्पर्धा गर्नेछन्। विजेतालाई एक लाख पुरस्कारसहित भेडा उपहार दिइनेछ। त्यस्तै, उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् भने तृतीय हुनेले २५ हजार प्राप्त गर्नेछन्।
समाजका कोषाध्यक्ष गुरुङले फुटबलमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले भेडा कप फुटबल आयोजना गरिएको बताए।
उनले भने, ‘फुटबल विश्वभर लोकप्रिय छ। तर, हामीकहाँ राज्यले फुटबललाई अपेक्षाकृत लगानी गर्न सकेको छैन। त्यसो हुँदा खेल निकै कम हुने गर्छन्। यो समस्यालाई चिर्न हामीले भेडा कप फुटबल आयोजना गरेका हौँ। यसले मुलुकका लागि पक्कै नयाँ खेलाडी उत्पादन गर्नेछ।’
प्रतिस्पर्धी सहभागी २३ क्लबलाई विभिन्न चारवटा समूह विभाजन गरिएका छन्। बिहीबारबाट सुरु भएको खेल शनिबारसम्म चल्नेछ। खेल कपनस्थित ह्यान्डल फुटबल ग्राउन्डमा भइरहेको छ।