ट्रकचालकको ज्यान लिने हात्तीलाई नियन्त्रणमा ल्याउने प्रयास विफल

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण
  • हात्तीको आक्रमणबाट गत सोमबार ना.४ख १८३० नम्बरको ट्रकका चालक ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको थियो

हात्तीले गत सोमबार बिहान राजमार्गमा आएर ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगरपालिका– १ निवासी करिब ४० वर्षका राजकुमार चौधरीको ज्यान लियाे ।

बारास्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकचालकको ज्यान लिने जंगली हात्तीलाई नियन्त्रण लिन पर्सा राष्ट्रिय निकुञ्जको टोलीले प्रयास विफल भएको छ । निकुञ्जसहित राष्ट्रिय प्रकृति कोष सौराहाबाट आएको टोलीले हात्तीलाई मंगलबार साँझ डार्ट गरेर नियन्त्रणमा लिन प्रयास गरेको भए पनि सफल हुन सकेन ।

मंगलबार साँझ पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निजगढ–पथलैया सडकखण्डमा रहेको भद्रकाली चोक पिलुवामा हात्ती देखापरेको थियो । राष्ट्रिय प्रकृति कोष सौराहाबाट आएको टोलीले हात्तीलाई नियन्त्रणमा लिन निकै परबाट डार्टगनबाट एक सेल चलाएको थियो । प्रविधिकले उक्त प्रयास सफल भएको बताए, तर निकै टाडाबाट गरिएको प्रयास विफल हुन पुग्यो ।

त्यसपछि प्राविधिकसहितको टोलीले भद्रकाली चोकको उत्तरतर्फ पर्सा राष्ट्रिय निकुञ्जबाट मगाइएको घरपालुवा हात्तीको मद्दतमा करिब दुई घण्टा जंगलमा खोजतलास गर्दासमेत उक्त हात्ती फेला पर्न सकेन ।

टोलीले बुधबारसमेत हात्तीको खोजी गरेको भए तापनि हालसम्म नियन्त्रणमा लिन नसकेको पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर जयराम न्यौपानेले बताए। उनका अनुसार कोल्हवीमा देखिएको हात्ती यमगज हो भने राजमार्गमा देखापरेको हात्ती फरक हो ।

हात्तीले गत सोमबार बिहान राजमार्गमा आएर ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगरपालिका– १ निवासी करिब ४० वर्षका राजकुमार चौधरीको ज्यान लिएपछि तामागढीबाट दक्षिणतर्फको जंगलमा पसेको थियो । हात्ती नियन्त्रणमा लिन डार्ट टोली, पर्सा राष्ट्रिय निकुन्जको घरपालुवा हात्ती र प्राविधिकहरू सोमबार दिउँसोदेखि नै निजगढ–पथलैया क्षेत्रको राजमार्ग परिचालन गरिएको छ ।

यसैबिच वन क्षेत्रमा हिंस्रक हात्तीको आक्रमण बढेपछि डिभिजन वन कार्यालय बाराले वनको चारकिल्ला तोकेर सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको छ । कार्यालय प्रमुख डिभिजनल वन अधिकृत राजीव झाले सूचना निकालेर कात्तिक २५ गते मंगलबारदेखि ०८२ कात्तिक ३० गतेसम्मका लागि बारामा पर्ने पर्सा राष्ट्रिय निकुन्जसहित राष्ट्रिय वन र सरकारद्वारा व्यवस्थित सामुदायिक, साझेदारी वन क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको जानकारी गराएको छ ।

सुझावित समाचार