बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोग घटेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, ०८१/८२ ले बागमतीका उद्योगहरूको क्षमता उपयोग ६ प्रतिशत विन्दुले घटेको हो । आव ०८०/८१ मा बागमतीका उद्योगहरूको क्षमता उपयोग ४४.३ प्रतिशत रहेकोमा गत आवमा ३८.७ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा वर्षमा सबैभन्दा बढी चाउचाउ उद्योगले ८२.४ प्रतिशत र सबैभन्दा कम गार्मेन्ट उद्योगले ११.८ प्रतिशत क्षमता उपयोग गरेका छन् । तथ्यांकअनुसार प्रशोधित दुध ५३.६ प्रतिशत, पशुदाना ४३ प्रतिशत, बियर ४८.५ प्रतिशत, हल्का पेयपदार्थ १६ प्रतिशत, चुरोट २१.९ प्रतिशत, पस्मिना ४९.५ प्रतिशत, ट्याब्लेट ३७.८ प्रतिशत, क्याप्सुल १८ प्रतिशत र ओइनटमेन्ट उद्योग १९.६ प्रतिशत क्षमतामा सञ्चालन भएको देखिएको छ । समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगहरूले ६ हजार दुई सय ६६ जनालाई रोजगारी प्रदान गरेका छन् ।
७२ अर्ब पुँजीका ५४३ उद्योग दर्ता
गत आवमा बागमती प्रदेशमा पाँच सय ४३ वटा उद्योगहरूमा कुल पुँजी ७१ अर्ब ९७ करोड लगानी प्रतिबद्धतासहितका उद्योग दर्ता भएका छन् । उनीहरूले २४ हजार ९३ जनालाई रोजगारी दिने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सिन्धुपाल्चोकमा एक, रसुवामा एक, धादिङमा आठ, नुवाकोटमा दुई, काठमाडौंमा तीन सय ४०, भक्तपुरमा ८३ र ललितपुरमा ७४ उद्योग दर्ता भएका छन् । यस्तै, काभ्रेपलाञ्चोक आठ, रामेछाप तीन, मकवानपुर १४ र चितवनमा नौ उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
होटेलको औसत अकुपेन्सी ५७ प्रतिशत
आव ०८०/८१ मा बागमती प्रदेशका होटेलको औसत अकुपेन्सी ५१.९ प्रतिशत थियो । गत आवमा भने त्यो ५७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक बढेकाले होटेल, रेस्टुरेन्ट तथा ट्रेकिङलगायतका पर्यटकीय गतिविधि बढ्दै गएको प्रतिवेदनमा भनिएको छ ।
यस्ता छन् बागमतीका उद्योगलाई चुनौती
केन्द्रीय बैंकले प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त सडक समयमै पुनर्निर्माण नहुँदा कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको बताएको छ । यसले उद्योगको सञ्चालन खर्च बढेको छ प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, जग्गाको मूल्यमा भएको अधिक वृद्धि, उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू सडकमार्ग, पानी, फोहोर व्यवस्थापन, श्रमशक्ति, बजारीकरणको अभावमा नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्ने काममा पनि चुनौती भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, धितोमा आधारित कर्जा विस्तार पद्धतिले साना तथा मझौला उद्योगका लागि वित्तीय स्रोतको उपलब्धता बढाउन चुनौती भएको बताइएको छ ।
अवसर पनि उत्तिकै
प्रतिवेदनले बागमती प्रदेशका उद्योगलाई ब्याजदर घटेको अवस्थामा कर्जाको उपयोग बढाउन सकिने प्रतिवेदनमा उल्लेख छ । यस्तै, सबैभन्दा धेरै जनसंख्या रहेकाले यस प्रदेशमा औद्योगिक उत्पादनको बजारीकरणको प्रचुर सम्भावना रहेको पनि राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, दोलखामा रहेको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन गर्न सकेमा बहुआयामिक अवसरको सिर्जना गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै, हिमाली भेगको पानी र जडीबुटी प्रशोधन–ब्रान्डिङ गरी बिक्री–वितरण गर्ने निर्यात उद्योगहरूको क्षमता विस्तार तथा थप उद्योग स्थापना गर्न सकिने सम्भावना रहेको प्रतिवेदनमा भनिएको छ ।