२३ र २४ भदौमा भएको जेन–जीको प्रर्दशनमा गण्डकी प्रदेशमा पाँच अर्बभन्दा बढीको क्षति भएको छ । गण्डकी प्रदेश सभाको सोमबारदेखि सुरु भएको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारीतर्फ दुई र निजीतर्फ तीन गरी पाँच अर्बभन्दा बढीको क्षति भएको जानकारी दिएका हुन् ।
प्रर्दशनको क्रममा तीनजनाको ज्यान गएको, प्रर्दशनकारी र सुरक्षाकर्मी गरी ७० जनाभन्दा धेरै घाइते भएका मुख्यमन्त्रीले जानकारी दिएका छन् ।
प्रदेशका ११ मध्ये सात जिल्लामा रहेका १३८ सरकारी कार्यालय र ६१ वटा निजी संरचना, व्यवसायमा क्षति पुगेको मुख्यमन्त्रीको भनाइ छ । उनका अनुसार सबैभन्दा धेरै कास्कीमा क्षति पुगेको छ । कास्कीसँगै तनहुँ, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जामा रहेका सरकारी र निजी संरचनामा क्षति पुगेको हो ।
प्रदेशमा ३६१ दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी, सातवटामा तोडफोड र तीनवटा हराएका, १६१ चारपाङग्रे सवारी साधनमा आगजनी र ३१ वटा तोडफोड भएका छन् । भवन र सवारी साधनसँगै ल्यापटप, कम्प्युटर, फोटोकपी÷प्रिन्टर, टेलिभिजन, स्क्यानर, क्यामेरा, भिडियो क्यामेरा, जेनेरेटर, डिजिटल बोर्ड, मोवाइल, प्रोजेक्टरसँगै अन्य विधुतीय सामाग्री, फर्निचरहरूमा तोडफोड र आगजनी भएका छन् ।
गण्डकीमा ३०६ दरबन्दी कटौती
प्रर्दशनपछि सेवा प्रवाह र बजेट कार्यन्वयन केही प्रभावित भए पनि प्रदेश सरकारको प्रशासनिक कामलाई भने निरन्तरता दिइएको, मातहतका मन्त्रालय÷निकाय र कार्यालयको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरी विभिन्न सेवा-समूह र तहका गरी ३०६ कर्मचारी दरबन्दी कटौती गरिएको, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरिएका, मर्ज र खारेजीमार्फत कार्यालय÷निकायको संख्या ३२ बाट १९ कायम गरिएको समेत बैठकलाई मुख्यमन्त्रीले जानकारी दिए ।
क्षति पुगेका संरचनाको प्राविधिकहरुबाट मूल्यांन र स्टमेट समेत भएको जानकारी दिँदै केही संरचनाको पुनःनिर्माणका लागि ठेक्का प्रक्रिया समेत आह्वान भइसकेका, प्रदेश सरकारको चालु वर्षको बजेट समेत आइसकेको सन्र्दभमा पुनः निर्माणका लागि स्रोत जुटाउन केही समस्या भएको उनले बताए ।
सम्बोधनका क्रममा मुख्यमन्त्रीले प्रर्दशनका नाममा कांग्रेसका सभापति शेरबहादुर देउवालगायत दलका नेताहरुमाथि भएको अमानवीय आक्रमणप्रति खेद व्यक्त गरेका थिए । फौजदारी घटना, आक्रमण, लुटपाट, तोडफोड र चोरी डकैतीको संम्बन्धित निकायले निश्पक्ष छानबिन गरी दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउनु जरुरी रहेको भनाई उनको थियो ।
पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरीआन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा प्रर्दशनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिल्याएको भनाई समेत मुख्यमन्त्रीको थियो । हजारौँ रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सक्रिय हुने भन्दै यस विषम परिस्थितीमा उच्च मनोबलका साथ अघि बढ्न निजी क्षेत्रलाई अनुरोध गरेका थिए ।
२३ र २४ को प्रर्दशनले राजनीतिक दल र नेतृत्वलाई गहिरो आत्मसमीक्षाको सन्देश दिएको बताउँदै अब दल र नेतृत्वले जनअपेक्षाअनुसार जवाफदेही पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पूननिर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु रहेको उनले बताएका थिए ।
२१ फागुनका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउनु प्रदेश सरकारको पनि दात्यिव रहेकाले यसलाई सफल बनाउन प्रदेश सभाका सदस्य, राजनीतिक दल, नागरिक समाज, युवाहरु लगायत सबै प्रदेशवासीमा अनुरोध समेत मुख्यमन्त्रीले गरेका थिए ।