पूर्वाधार विकासमा आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्वाधार विकासका लागि आन्तरिक पुँजी परिचालन आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले देशमा ठुला पूर्वाधार परियोजनाका लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पुँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए । अध्यक्षका ढकालले महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरिएको जानकारी दिँदै यसबाट ठुला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पुँजीको अभाव नहुने बताए ।  

उनले निजी क्षेत्रमाथि भएको आक्रमण र तोडफोडमा  संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग राखेको र सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको बताए ।‘महासंघको आग्रहमा गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षा समितिमा उद्योग वाणिज्य संघ अध्यक्ष एवं प्रतिनिधिलाई समावेश गर्ने निर्णय गरेको छ । यसका लागि हामी सरकारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ,’ उनले बताए । 

उनले महासंघको पहलमा लामो समयदेखिको ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि सरकारसँग सहमतिको प्रयास गरेको र यो प्रयाससँगै विद्युत्को विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास लिएको बताए । 

सुझावित समाचार