सरकारी-पत्र किर्ते गरी ७० करोडभन्दा धेरैको अवैध औषधि तथा भिटामिन आयात गरी बिक्री गर्ने कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर गरेको हो।
सो कम्पनीकी अध्यक्ष सुना सुवेदी बडाल र उनका श्रीमान् हेमराज बडाल(ऋषि) विरुद्ध मुद्दा दायर भएको हो। अनुसन्धानको क्रममा उनीहरूले अनुमतिबिना करिब ७० करोडबराबरको पशुपन्छीको फुड सप्लिमेन्ट, भिटामिन तथा मिनरल आयात गरेर बिक्री गरेका थिए। सरकारले यस्ता फुड सप्लिमेन्ट, भिटामिन आयात गर्न प्रतिबन्ध लगाएको छ । कुखुरालाई त्यस्ता फुड सप्लिमेन्ट तथा भिटामिन खुवाउँदा छिटो बढ्ने भएकाले प्रयोग हुने गरेको छ। त्यस्ता कुखुराको मासुले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सरकारले रोक लगाएको थियो। तर, बडालले सरकारी-पत्र नै किर्ते बनाई भन्सारमा पेस गरेर सोही आधारमा आयात गरेर बिक्री गर्दै आएका थिए। सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार औषधि व्यवस्था विभाग, राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला र गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका पत्रहरू किर्ते गरेका हुन्।
कान्तिपुर भेट भेटनरीसम्बन्धी औषधि आयात गर्ने ठुलोमध्येको एक कम्पनी हो। सो कम्पनीविरुद्ध एक वर्षअघि नै उजुरी परे पनि राजनीतिक दबाबका आधारमा अनुसन्धान रोकिँदै आएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले एक महिनाअघि मात्र अनुसन्धान थालेको थियो। केही भन्सार कार्यालयबाट सो कम्पनीले अवैध रूपमा आयात गरेका औषधिको विवरण प्राप्त हुन बाँकी रहेकाले बिगो पछि खुलाउने गरी मुद्दा दायर गरिएको छ।
सिआइबीले दायर गरेको अभियोजनमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिने उल्लेख छ। अवैध आयात गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरूमाथि छानबिन हुन लागेको हो।