एमालेको युवा संगठन राष्ट्रिय युवासंघ नेपालले हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङको नागरिकता छानबिनका लागि सरकारलाई एकहप्ते अल्टिमेटम दिएको छ ।
शनिबार बसेको संघको पदाधिकारी बैठकले तोकिएको समयसीमाभित्र छानबिन गरी वास्तविकता सार्वजनिक नगरे उनलाई खोजेर छानबिनका लागि प्रहरीलाई जिम्मा लगाई कानुनी प्रक्रियामा ल्याउने निर्णयसमेत गरेको छ।
‘सुदन गुरुङको नागरिकता सक्कली हो कि, नक्कली? यसको छनबिन गरी एक हप्तामा सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छौँ,’ संघका प्रवक्ता निरोज पौडेलले निर्णय सार्वजनिक गर्दै भनेका छन्, ‘यदि सरकारले छानबिन गरी सार्वजनिक गरेन भने युवासंघले उनलाई खोजेर प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा ल्याउनेछ।’ जेन-जी आन्दोलनका सहयोगी गुरुङले २३ भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी छानबिन गर्न माग गर्दै आएका छन्।
संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा सम्पन्न बैठकले जेन-जी आन्दोलनले क्षति पुर्याएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको तेह्थुमको आठराईको निवास निर्माण गरी क्षति पुगेका पार्टी नेता–कार्यकर्ताहरूको घर पुननिर्माण गर्ने अभियानको सुरुवात गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, आन्दोलनको नाममा देश जलाउनेलाई कानुनी कठघरामा ल्याई जेन-जी नवयुवाहरूलाई देश निर्माणको जागरण अभियानमा समेट्ने निर्णय पनि बैठकले गरेको छ।