मोरङको कटहरीस्थित एक तेल उद्योगमा आगलागी हुँदा तीनजना घाइते भएका छन । हुलाकी राजमार्ग करिडोरमा रहेको कटहरी गाउँपालिका–४, जामुनगाछीस्थित जय हनुमान आयल इन्डस्ट्रिज प्रालिमा शुक्रबार राति ग्यास लिक भएर आगलागी हुँदा तीनजना घाइते भएका हुन्।
शुक्रबार राति करिब १२ बजे ग्यास लिक भएर एक्कासि भएको आगलागीमा उद्योगका भारतीय जनरल म्यानेजर ३० वर्षीय अर्जुन पण्डित, स्थानीय कामदार २२ वर्षीय दीपक कामत र पर्सा वीरगन्जका कामदार २९ वर्षीय अलि आलम घाइते भएका हुन्।
घाइते भएकाहरूमध्ये म्यानेजर पण्डित र कामदार कामतको अनुहार तथा हातखुट्टा र अर्का कामदार आलमकाे घाँटी र कपाल जलेकोले उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भैरहेको छ।
आगो कटहरी प्रहरी चौकी, स्थानीयबासी र उद्योगका कामदार कर्मचारी मिलेर शनिबार एक बजे राति नै नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ। आगलागी हुँदा उद्योगमा पनि क्षति पुगेको छ।