सुदूरपश्चिम रोयल्सको एनपिएल ट्रफी यात्रा टीकापुरबाट सुरु

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम रोयल्सले कैलालीको टीकापुरबाट नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी यात्रा सुरु गरेको छ। टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृहको प्रांगणबाट शुक्रबार ट्रफी टुर शुभारम्भ गरिएको हो।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू र नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रूपमा यात्राको सुरुवात गरे। सो अवसरमा अध्यक्ष चन्दले क्रिकेट देशलाई चिनाउने माध्यम बनेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए। नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्याउन क्रिकेटको ‘हब’ बनेको सुदूरपश्चिमको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।

टीकापुर नगरपालिकाका प्रमुख डगौराले टीकापुरबाट ट्रफी यात्रा थालिनुले टीकापुरलाई चिनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। टीकापुरबाट ट्रफी यात्राको शुभारम्भ गरेकोप्रति उनले आयोजकलाई धन्यवाद दिए।

सुदूरपश्चिम रोयल्स प्रालिका अध्यक्ष स्वतन्त्रप्रताप शाहले ऐतिहासिक महत्त्व बोकेको टीकापुर पार्कको प्रचारप्रसार गर्न यहाँबाट ट्रफी यात्रा शुभारम्भ गरिएको बताए। राजा महेन्द्रले केही दिन शासन चलाएको टीकापुर पार्कबाट ट्रफी यात्रा सुरु गर्न पाउँदा गौरवको अनुभूति भएको उनको भनाइ थियो। अध्यक्ष शाह टीकापुरकै बासिन्दा हुन्।

आयोजकका अनुसार ट्रफी यात्रा कैलालीको टीकापुर, चिसापानी, लम्की, बौनिया, सुख्खड, मसुरिया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी, अत्तरियालगायतका स्थानमा र्याली निकालिनेछ।

यात्रामा सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारी, नरेन साउद, इसान पाण्डेयलगायत सहभागी छन्। सुदूरपश्चिम रोयल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले समर्थकसँग भेटाघाटसँगै एनपिएलप्रति उत्साह भर्न ट्रफी यात्रा थालिएको बताए।

सुदूरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ। एनपिएलको दोस्रो संस्करण आगामी १ मंसिरबाट सुरु हुँदै छ।

सुझावित समाचार