एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई पक्राउ

बिहिबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

मोरङ प्रहरीले दुई फरक स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले एम्बुलेन्समा भारत तस्करी गर्न लागेको ३३ केजी गाँजासहित दुईजना र भारतीय नम्बर प्लेटको स्कुटरमा खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको हो।

लागुऔषध ब्युरो विराटनगरको सहयोगमा मोरङ प्रहरीले बुधबार राति १० बजे मोरङको सीमावर्ती जहदा गाउँपालिका–३, हात्तीबन्दाबाट स १ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा भारततर्फ तस्करी गर्न लागेको ३३ केजी ६१० ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एम्बुलेन्सचालक विराटनगर महानगरपालिका–५, कोचाखल बस्ने ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्सलाई अघि लैजाने को ३१ प ८८८९ नम्बरको मोटरसाइकलचालक जहदा गाउँपालिका–३, हामिबन्दा बस्ने ३२ वर्षीय मदनलालकुमार राजवंशी छन्।

यसैगरी, बुधबार साँझ करिब ६ बजे विराटनगर–५, पुलचोकनजिक हुलाकी सडकमा भारतीय नम्बरको स्कुटर चेकजाँच गर्दा ५३ ग्राम खैरो हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–२ का १९ वर्षीय विकासकुमार यादव र भारत बिहार पूर्णिय जिल्ला भीमनगरपुरका १९ वर्षीय कृष्णकुमार देव रहेका छन्।

सुझावित समाचार