हेटौँडास्थित चुरे हिल अस्पतालमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । उपचार प्रक्रियाबारे विवाद हुँदा अर्थोपेडिक सर्जन डा. सुशील शाहमाथि हातपात भएको हो । बुधबार साँझ करिब ७ बजे हेटौँडा– ११ निवासी अजित बिडारीले दुर्घटनामा परेकी बिरामीको उपचारका क्रममा विवाद उत्पन्न भएपछि डा. शाहलाई धकेलेर मुक्का प्रहार गरेका थिए । अस्पतालका निर्देशक डा. आकेश प्रजापतिका अनुसार घटनापछि अन्य बिरामीका आफन्त र अस्पतालका कर्मचारीहरूले बिडारीलाई तत्काल नियन्त्रणमा लिएका थिए ।
अस्पतालमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनका अनुसार डा. शाहलाई सोध्दा उनले घटना सामान्य भएकाले कानुनी प्रक्रिया अघि नबढाउन आग्रह गरेका थिए । त्यसपछि बिडारी अस्पतालबाट बाहिरिएका थिए । घटनाबारे लोप्चनले बताएअनुसार हेटौँडानिवासी सुरक्षा कँडेल लडेर कुहिनोमा चोट लागेपछि उपचारका लागि अस्पताल आएकी थिइन् । उनलाई राजु बिडारीले ल्याएका थिए । इमर्जेन्सीमा ड्युटीमा रहेका डा. सचिन दासले उक्त केस अर्थोपेडिक सर्जनले हेर्नुपर्ने भन्दै डा. शाहलाई बोलाएका थिए ।
उपचारको क्रममा स्वास्थ्य बिमा प्रणालीमार्फत सेवा लिनुपर्ने विषयमा विवाद उत्पन्न भएको थियो । डा. शाहले बिरामीको घाउ सफा गरी टाँका लगाउनुअघि एक दिन अवलोकनका लागि भर्ना हुनुपर्ने सल्लाह दिएका थिए । तर, बिरामी पक्षले भर्ना हुन अस्वीकार गर्दै बिरामीलाई मकवानपुर सहकारी अस्पताल लैजान रिफर माग गरेपछि झगडा चर्किएको थियो । त्यस क्रममा अजित बिडारीले चिकित्सकमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षकका अनुसार हातपातका क्रममा चिकित्सकलाई गम्भीर चोट नलागेको र घटना सामान्य विवादकै क्रममा भएको प्रारम्भिक निष्कर्ष आएको छ । उनले भने, ‘औपचारिक उजुरी नआए पनि अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्नको पहिचान र कानुनी प्रक्रिया दुवै अघि बढाइनेछ ।’
यता, नेपाल चिकित्सक संघ मकवानपुरले भने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। संघका सचिव डा. राजु सेढाईंका अनुसार अस्पताल प्रशासन, पीडित चिकित्सक र संघबिचको छलफलपछि प्रहरीमा औपचारिक उजुरी दर्ता गर्ने निर्णय भएको छ। डा. सेढाईंले भने, ‘स्वास्थ्यकर्मीमाथि बारम्बार हिंसात्मक घटना हुन थालेका छन्, यसपटक दोषीमाथि कानुनी कारबाही नहुने हो भने यस्तो घटना दोहोरिने खतरा रहन्छ ।’ यसबिच चुरे हिल अस्पतालले घटना दुर्भाग्यपूर्ण भएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।