भिड तथा दंगा नियन्त्रणका लागि गृह मन्त्रालयले नयाँ रणनीति तय गर्न गृहकार्य थालेको छ । जेन–जी आन्दोलनमा भोगेको असफलताबाट पाठ सिकेर सुरक्षा निकायलाई प्रस्ट ‘टिओआर’सहित फिल्डमा खटाउन छलफल सुरु भएको हो ।
मन्त्रालय स्रोतका अनुसार अब भिड तथा दंगा नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सँगै खटाइनेछैन । नेपाल प्रहरीले भिड नियन्त्रण गर्न नसकेको अवस्थामा दोस्रो तहमा मात्र सशस्त्र प्रहरी खटिनेछ । नेपाल प्रहरीलाई भन्दा सशस्त्र प्रहरीलाई कडा बल प्रयोग गर्ने अधिकारसहित खटाउने तयारी भइरहेको छ । स्रोतका अनुसार सशस्त्र प्रहरीले नै यससम्बन्धि विस्तृत योजना मन्त्रालयमा पेश गरिसकेको छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले दंगा नियन्त्रणसम्बन्धि विषय छलफलमा आएको बताए । ‘आगामी दिनमा दंगा नियन्त्रण कसरी गर्ने भन्ने विषयहरू छलफलमा आएका छन्,’ उनले भने, ‘दंगा नियन्त्रणसम्बन्धि थप तालिम दिनेलगायत विषयहरू यसमा छन् ।’
हाल भिड नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगै खटिने गरेका छन् । दुवैलाई प्रष्ट जिम्मेवारी हुँदैन । जसकारण फिल्डमा समन्वयमा समेत समस्या हुने गरेको छ । जेन–जी आन्दोलनमा पनि दुई निकायबिच राम्रो समन्वय हुन सकेको थिएन ।
‘अब सिडिओको आदेशपछि मात्र सशस्त्र प्रहरी खटिने र उनीहरूलाई नीतिगत रुपमै प्रष्ट जिम्मेवारी तोक्ने तयारी गरेका छौं,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको फरक छुट्याएर त्यहीअनुसार जिम्मेवारी दिन्छौं ।’
स्रोतका अनुसार भिड नियन्त्रणमा सुरुमा स्थानीय प्रहरी खटिने, त्यसपछि प्रहरीकै दंगा नियन्त्रणको बिशेष टोली खटिनेछ । त्यो टोलीले पनि स्थिति नियन्त्रणमा लिन नसकेको अवस्थामा मात्र सशस्त्र प्रहरी खटिनेगरी योजना बनेको छ । त्यसरी सशस्त्र प्रहरी खटिदा सिडिओले अनिवार्य रुपमा आदेश दिनुपर्ने र सशस्त्र प्रहरी खटिएसँगै आदेशबिना नै घुँडामुनी गोली हान्ने अधिकार दिन लागिएको छ । सशस्त्र प्रहरी खटिएपछि थप बल प्रयोग गर्छ भन्ने विषय स्थापित हुने गरी उसलाई खटाउन लागिएको छ ।
अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको परिचालनमा कमजोरी हुँदै आएको विषय यसअघिदेखि नै उठ्दै आएको थियो । सशस्त्र प्रहरीले पनि आफुलाई कानूनले दंगा नियन्त्रणमा मात्र खटाउने भनेकोमा त्यहीअनुसार कार्यान्वायन गर्न प्रस्ताव राख्दै आएको थियो । तर, सरकारले सामान्य आन्दोलनदेखि जात्राहरूमा समेत सशस्त्र प्रहरी खटाउँदै आएको छ । जसलाई नीतिगत रुपमै सुधार गर्न लागिएको छ । यसका लागि नयाँ कार्यविधि बनाउने छलफल भइरहेको छ ।
सशस्त्र प्रहरी बलका पूर्वएआइजी नारायणबाबु थापा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सँगै खटाउनु नै अर्धसैन्य संगठनको मान्यताविपरीत भएको बताउँछन् । ‘दुवै प्रहरीलाई सँगै खटाउने हो भने दुईवटा फौज किन चाहियो ?’ उनी भन्छन्, ‘प्रहरीले नसकेको अवस्थामा मात्र सशस्त्र प्रहरी खटाउनुपर्छ, दंगा नियन्त्रणमा थप अधिकार र स्रोत साधनसहित सशस्त्र प्रहरी खटाउनु जरुरी छ ।’
सशस्त्र प्रहरीले दंगा नियन्त्रणका लागि छुट्टै गण बनाउने
सशस्त्र प्रहरीले दंगा नियन्त्रणका लागि उपत्यकामा छुट्टै गण बनाउने प्रक्रिया अघि बढाएको छ । जेन–जी आन्दोलनमा भएका कमजोरीको विश्लेषण गरी एसएसपीको नेतृत्वमा नयाँ गण बनाउन लागिएको हो ।
कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नीलबाराही गणलाई स्तरोन्नति गरी दंगा नियन्त्रण गण बनाउन लागिएको हो । त्यस्तै, कान्तिपथमा रहेको बाघवैरभ गुल्मलाई गणमा स्तरोन्नति गर्ने प्रस्ताव सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा पठाएको छ ।
अहिलेकै जनशक्तिबाट व्यवस्थापन हुने गरी उपत्यकामा सशस्त्र प्रहरीका दुई कार्यालय स्तरोन्नति गर्न लागिएको हो । दंगा नियन्त्रण गणमा दंगा नियन्त्रणसम्बन्धी विशेष तालिम सञ्चालन गरी तालिम गरेकालाई मात्र राख्न लागिएको छ । नेपाल प्रहरीमा पनि दंगा नियन्त्रणका लागि विशेष जनशक्ति बढाउने गृह मन्त्रालयको तयारी छ ।