१०औँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

१०औँ बृहत् राष्ट्रिय खेलकुद आगामी फागुनको पहिलो साता हुने भएको छ।

बुधबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३औँ बोर्ड बैठकले लामो समयदेखि अलपत्र रहेको राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको सदस्यसचिव टंकलाल घिसिङले नयाँ पत्रिकालाई जानकारी दिए।

‘आजको बैठकले फागुन पहिलो साता गर्ने निर्णय गरेको छ। हामी तयार छौँ,’ उनले भने। कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगिता यसअघि तीनपटक सरिसकेको छ। खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको बैठकले पूर्वनिर्धारित सबै ३६ खेलमा प्रतिस्पर्धा गराइने निर्णय गरेको हो।

गत वर्ष मंसिरमै कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर १०औँ राष्ट्रिय खेलकुद हुनुपर्ने थियो। तर, बजेट र पूर्वाधारलाई देखाउँदै प्रतियोगिता हुन सकेको थिएन। तत्कालीन मन्त्री तेजुलाल चौधरीले प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरेका थिए।

सुझावित समाचार