दोस्रो नेपाल प्रिमियर लिग : इंग्ल्यान्डका विकेटकिपर जोहन काठमाडौंमा

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण
  • इंग्ल्यान्डको चर्चित काउन्टी क्रिकेटमा ४५२ खेल खेलेका जोहन सिम्पसन पाँचौँ विदेशी खेलाडीका रूपमा काठमाडौं गोर्खाजमा आबद्ध 

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका विकेटकिपर ब्याट्सम्यान जोहन सिम्पसनले काठमाडौं गोर्खाजबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । काठमाडौंले भित्र्याएका जोहन पा“चौँ विदेशी खेलाडी हुन् । यसअघि इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकी ब्याट्सम्यान मिलिन्द कुमारलाई र इंग्लिस काउन्टीमा आबद्ध बेन चाल्सवर्थ काठमाडौंमा अनुबन्ध भएका थिए । 

३७ वर्षे जोहनले इंग्ल्यान्डबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले इंग्ल्यान्डमा सिरिज खेल्दा जोहनले तीनवटै एकदिवसीय खेल खेलेका थिए । लर्डस्मा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १७ रन बनाउनुका साथै विकेटपछाडि पाँच क्याच लिएका थिए । ‘जोहन आफ्नो नेतृत्व क्षमता, अनुभव र संयमताका साथ काठमाडौंमा आउनेछन्,’ काठमाडौंका मुख्य प्रशिक्षक मोन्टी देसाईले भने, ‘उनले काउन्टीमा वर्षौँदेखि राम्रो प्रदर्शन गर्दै आएका छन् ।’ जोहनले काउन्टी क्रिकेटमा ससेक्सको कप्तानी जिम्मेवारीमा छन् । काउन्टी क्रिकेटकै अनुभवी खेलाडी आउँदा काठमाडौंको ब्याटिङ लाइन बलियो हुने प्रशिक्षक देसाईले बताए । ‘ब्रिटिस खेलाडीको आगमनले हाम्रो हाम्रो ब्याटिङ र विकेट किपिङ पक्ष थप मजबुत बनाएको छ,’ उनले भने । 

एनपिएलमा जोडियो एक्सपर्ट एजुकेसन
दोस्रो एनपिएलमा शैक्षिक परामर्शदाता एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज एजुकेसनल कन्सलटेन्सी पार्टनरमा बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेसनबिच एनपिएलको आधिकारिक एजुकेसनल कन्सल्टेन्सी पार्टनरका रूपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक्सपर्ट एजुकेनी लामो समयदेखि विभिन्न तहका क्रिकेट प्रतियोगितामा संलग्न रहँदै आएको छ । क्यानका सचिव तथा पूर्वराष्ट्रिय टोलीका कप्तान पारस खड्का सात वर्षदेखि एक्सपर्ट एजुकेसनका ब्रान्ड एम्बेसडरका रूपमा रहेका छन् । 

जनकपुरको नयाँ जर्सी 
साबिक विजेता जनकपुर बोल्ट्सले दोस्रोे सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । जर्सीमा प्रयोग भएको बैजनी रङले जोश, गाढा निलो रङले तागत र सेतो रङले स्पष्टताको प्रतिनिधित्व गर्दै समग्र मधेशलाई एकताको भाव झल्किने गरी जर्सी निर्माण गरिएको जनकपुरले जनाएको छ । पहिलो संस्करणको फाइनलमा‌ सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर विजेता बनेको थियो । राष्ट्रिय टोलीका ओपनर आरिफ शेख जनकपुरका मार्की खेलाडी हुन् । 
 

सुझावित समाचार