जेन–जी आन्दोलनका आडमा हत्या, लुटपाट तथा आगजनीमा संलग्न ३७५ जना पक्राउ परेका छन् । २४ भदौको आन्दोलनको आडमा आपराधिक गतिविधिमा संलग्नमाथिको कारबाहीलाई प्रहरीले तीव्रता दिएको हो ।
गृह मन्त्रालयका अनुसार १४१ वटा मुद्दा दर्ता भइसकेको छ । जसमा संलग्न ३७५ जना पक्राउ परिसकेका छन् । प्रहरीको हत्यामा संलग्न मात्र १२ जना पक्राउ परेका छन् । आन्दोलनमा तीन प्रहरीको हत्या भएको थियो । सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न ३६३ जना पक्राउ परेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नमाथिको कारबाहीलाई प्रहरीले तीव्रता दिएको छ । ‘पक्राउ परेकाउपर आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘प्रहरीको हतियार लुट्न तथा अन्य आपराधिक गतिविधिमा संलग्नविरुद्ध कारबाहीलाई प्रहरीले तीव्रता दिएको छ ।’
काठमाडौं उपत्यकामा मात्र २१९ जना पक्राउ परिसकेका छन् । कोशी प्रदेशमा ३०, मधेशमा २१, बागमती (उपत्यकाबाहेक)मा ३३, गण्डकीमा ३२, लुम्बिनीमा
२९, कर्णालीमा चार र सुदूरपश्चिममा आठजना पक्राउ परिसकेका छन् ।
आन्दोलनमा कतिपय नियोजित रूपमा आगजनी र लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । विशुद्ध आन्दोलनमा संलग्नलाई कारबाही नगर्न र आन्दोलनको आडमा अपराधमा संलग्नलाई नछाड्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आन्दोलनमा ठुलो संख्यामा प्रहरीका हतियारसमेत लुटिएका थिए । त्यसविरुद्ध पनि प्रहरीले अप्रेसन चलाई कतिपयलाई पक्राउ गरिसकेको छ ।
आठजनाले गरे आत्मसमर्पण
आन्दोलनका क्रममा प्रहरी कार्यालय जलाउने आठजनाले आत्मसमर्पण गरेका छन् । प्रहरी वृत्त जगाती जलाउने आठजना सोमबार आफैँ प्रहरीमा उपस्थित भएका हुन् । आत्मसमर्पण गर्नेमा काभ्रेपलाञ्चोक भुम्लुका रामशरण परियार, बनेपाका रूपक परियार, नमोबुद्धका अमृत सुनुवार र विकास तामाङ, सर्लाही लालबन्दीका होमबहादुर खत्री र सरोज बम्जन, महोत्तरी सोनामका प्रह्लादकुमार ठाकुर, भक्तपुरका राजन माक छन् ।
दमनमा संलग्नको बयान लिने तयारी
आन्दोलनमा गोली चलाउने र गोली चलाउन आदेश दिनेसँग जाँचबुझ आयोगले बयान लिने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालयका केही अधिकारीसँग बयान लिने तयारी गरेको हो ।
आयोगले सुरुमा २३ भदौको आन्दोलनमा दमन गर्नेमाथि बयान लिन लागेको छ । जसमा सुरुमा फिल्डमा खटिने सुरक्षाकर्मी, उनीहरूका कमान्ड र तत्कालीन गृहमन्त्री रमेश लेखक तथा प्रधानमन्त्री केपी ओलीसँग बयान लिने तयारी गरेको छ । आन्दोलनमा दमन गर्ने र आन्दोलनका आडमा अपराध गर्ने दुवै पक्षलाई कानुनी दायरामा ल्याउन माग भएको छ । दमन गर्नेमाथि भने जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्र कारबाही अघि बढाउने गृह मन्त्रालयको तयारी छ ।
अख्तियारले पनि दियो प्रहरीमा जाहेरी
जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट २४ करोडबराबरको क्षति भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा जाहेरी दिएको छ । मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा क्षतिको दाबीसहित आयोगले जाहेरी दर्ता गरेको हो ।
२४ भदौमा भएको घटनाका क्रममा अख्तियारमा आगजनी, तोडफोड र चोरी भएका थिए । कार्यालयमा भएको क्षतिको मूल्यांकन गरेर अख्तियारले प्रहरीमा जाहेरीसमेत हालेको छ । यो क्षति अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंस्थित टंगालको मात्र हो । आन्दोलनकारीले अख्तियारको केन्द्रीय कार्यालयभित्र छिरेर आगजनी, तोडफोड र चोरी गरेका थिए । त्यसमा संलग्नबाट सो बिगो भराउने मागसहित आयोगले जाहेरी दिएको हो । आन्दोलनकारीले अख्तियारको मुख्य भवन, सवारीसाधन र कम्प्युटरलगायत सामानमा आगजनी र तोडफोड गरेका थिए । अख्तियारका काठमाडौंबाहिरका आठवटा कार्यालयमध्ये आधा संख्याका कार्यालयमा पनि क्षति पुगेको छ । अख्तियारका इटहरी, हेटौँडा, पोखरा र बुटवल कार्यालयमा पनि आन्दोलनकारीले क्षति पुर्याएका छन् । यसको क्षति मूल्यांकन भइरहेको अख्तियारले जनाएको छ ।
प्रहरीले थाल्यो सर्वोच्च र काठमाडौं जिल्ला अदालत आगजनीको अनुसन्धान
प्रहरीले सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौंमा भएको तोडफोड र आगजनी सम्बन्धमा अनुसन्धान थालेको छ । दुवै अदालतको जाहेरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
सर्वोच्च र जिल्ला अदालतले गत १३ कात्तिकमा घटनाको अनुसन्धान गर्न भन्दै काठमाडौं परिसरमा जाहेरी दिएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । दुवै अदालतको जाहेरीमा व्यक्ति किटान भने गरिएको छैन । तर, भौतिक सम्पत्तिमा भएका क्षतिको विवरण र घटना सम्बन्धमा भने जाहेरीमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले सर्वोच्च र जिल्ला अदालतमा गरिएको तोडफोड र आगजनीका सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढेको बताए । ‘गत २३ र २४ भदौको जेन–जी आन्दोलनमा सर्वोच्च र काठमाडौं जिल्ला अदालत आगजनी गरियो । घटनाको अनुसन्धान गर्न भन्दै जाहेरी परेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । अहिले सूचना संकलन भइरहेका छन् । अनुसन्धानका क्रममा आवश्यक सबै प्रक्रिया प्रहरीले पूरा गर्नेछ,’ उनले भने ।
काठमाडौं परिसरका अनुसार अहिले घटनासँग सम्बन्धित सिसिटिभी फुटेज, अन्य भिडियो र फोटो संकलनका काम भइरहेका छन् । नागरिकबाट आएका भिडियो र फोटो पनि प्रहरीले विश्लेषण गरिरहेको छ । तोडफोड र आगजनीमा प्रत्यक्ष जोडिएका अभियुक्त लगभग पहिचान भइसकेका छन् । उनीहरूको लोकेसन खुल्नासाथ पक्राउ गर्ने रणनीतिमा प्रहरी जुटेको छ । ‘हामीसँग भएका र नागरिकबाट आएका भिडियो र फोटो विश्लेषण हुँदै छ । अनुसन्धानका सबै प्रक्रिया पूरा गरेर घटनामा संलग्न हुनेलाई पक्राउ गरिनेछ,’ एसएसपी थापाले भने ।
प्रदर्शनका क्रममा सर्वोच्चको भवन जलेर पूर्ण तवरले नष्ट भएको छ । यसक्रममा सवारीसाधन र जिन्सी जलेर नष्ट भएका छन् । सबैगरी सर्वोच्चको मात्रै एक अर्ब २१ करोड २१ लाख ९१ हजार मूल्यबराबरको सम्पत्ति नष्ट भएको जाहेरी प्रतिवेदनमा उल्लेख छ । सर्वोच्चका अनुसार मूल भवन मात्रै ५० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको छ । ४० करोड १९ लाख ५ हजार ७०८ रुपैयाँ मूल्यबराबरको सवारीसाधन (पूर्ण क्षति), २८ करोड ७३ लाख १५ हजार ९३० रुपैयाँ मूल्यको जिन्सी (खर्च भएर जाने), २४ लाख १९ हजार ४१३ मूल्यको जिन्सी (खर्च भएर नजाने) र दुई करोड पाँच लाख ५० हजार मूल्यको सवारीसाधन (आंशिक) गरी कुल एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँ मूल्यको भौतिक सम्पत्ति नष्ट भएका छन् ।
तथ्यंकअनुसार सर्वोच्चको मात्रै ४३ चारपांग्रे, ७१ मोटरसाइकल, ३८ स्कुटर गरी १५२ सवारी जलेका छन् । जसमध्ये १६ चारपांग्रे सवारीसाधन भने मर्मतपछि प्रयोग गर्न मिल्ने अवस्थामा छन् । सर्वोच्चका अनुसार चालू अवस्थाका २० हजार ३४ मिसिल जलेर नष्ट भएका छन् । सर्वोच्चमा चालू अवस्थाका मात्रै सबैगरी २४ हजार २३४ मिसिल थिए । त्यस्तै, अभिलेखमा राखिएका एक लाख ९७ हजार मिसिल जलेर नष्ट भएका छन् ।
त्यस्तै, काठमाडौं जिल्ला अदालतमा मात्रै ५५ करोड ५० लाख २५ हजार मूल्यबराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएका छन् । जाहेरीमा उल्लेख भएअनुसार अदालत मूल भवन जलेर ५२ करोड २७ लाख मूल्यबराबरको क्षति हुन पुगेको छ । आगजनीपछि भवन प्रयोग गर्न नमिल्ने भएको छ । त्यसबाहेक २३ लाख २५ हजार रुपैयाँ मूल्यबराबरको सवारीसाधान र तीन करोड मूल्यको फर्निचर जलेर नष्ट भएका छन् ।
प्रदर्शनका क्रममा सर्वोच्चसहित २३ अदालतमा तोडफोड र आगजनी गरिएका छन् । जसबाट दुई अर्ब ८० करोड ७८ लाख १९ हजार ६६३ रुपैयाँ मूल्यबराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । सर्वोच्चका अनुसार तोडफोड र आगजनीबाट भवन मात्रै एक अर्ब ६५ करोड ४१ लाख ६६ हजार ९५८ रुपैयाँ मूल्यबराबरको क्षति भएको छ । त्यसबाहेक सवारीसाधन ६१ करोड ५१ लाख ४२ हजार ९६० रुपैयाँ र फर्निचर, इलेक्ट्रोनिक्स तथा अन्य सामग्री ५३ करोड ८५ लाख नौ हजार ७४८ रुपैयाँ मूल्यबराबरको जलेर नष्ट भएका छन् । सर्वोच्चको तथ्यांकअनुसार जेन–जी आन्दोलनमा उच्च अदालतमध्ये हेटौँडा, बुटवल, मोरङ, कास्की, बाँके र दाङमा प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका छन् । यसक्रममा अदालतको मात्रै ५० करोड ९१ लाख ७५ हजार १८३ रुपैयाँ मूल्यबराबरको भौतिक सम्पत्ति जलेका छन् । काठमाडौं जिल्ला अदालतसहित मुलुकभरका १३ जिल्ला अदालतमा तोडफोड र आगजनी भए । अदालतको मात्रै एक अर्ब ९० लाख ९८ हजार ४२८ रुपैयाँ मूल्यबराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएका छन् ।