पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन समितिलाई विद्यालयको शैक्षिक गुणस्तर खस्केको चौतर्फी आरोप लाग्ने गरेको छ । त्यसमाथि सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नादर न्यून र विद्यार्थीहरू बिचैमा कक्षा छाडेर निजी विद्यालय जाने लहडले सामुदायिक विद्यालय सञ्चालन गर्न धौ–धौ परेको छ । सामुदायिक विद्यालयलाई सधैँ लाग्ने गरेको आरोप भनेको– ‘शैक्षिक गुणस्तर’ भएन भन्ने हो ।
यस्तैमा संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका– ४, गोलाकाे कृष्ण माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ–गाउँ पुगेर ‘अभिभावक भेटघाट तथा घरदैलो अभियान’ सञ्चालन गरिरहेको छ । गत १४ कात्तिकबाट सुरु भएको घरदैलो अभियान २० कात्तिकसम्म एक साता सञ्चालन हुने कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङले बताए । विशेष गरेर कक्षा १० मा अध्ययनरत विद्यार्थीको घर–घरमा पुगेर अभिभावकसँग अन्तर्क्रिया गरिरहेको उनले बताए ।
भोटखोलाको भौगोलिक अवस्था कठिन र पातलो टाढा–टाढा गाउँ रहेको छ। तैपनि विद्यालयका विषयगत शिक्षक शिक्षिका, प्रधानाध्यापक र अध्यक्ष गुरुङ आफैँ कम्मर कसेर लागिपरेका छन् । उनीहरूले स्याक्सिला, तुङखालिङ, कपासे र लिंगामलगायतका गाउँका अभिभावकसँग अन्तर्क्रिया गरिसकेका छन् भने अझै केही गाउँका अभिभावकसँग अन्तर्क्रिया गर्न घरदैलो अभियान सञ्चालन भइरहेको विव्यस अध्यक्षको गुरुङको भनाइ छ ।
विद्यालयमा अभिभावकहरूलाई बोलाएर आफ्नो बालबालिकाको पढाइ अवस्था र अब कसरी अगाडि बढाउने भनेर विभिन्न समयमा पटक–पटक छलफल राख्दा अभिभावकहरूको उपस्थिति न्यून हुने भएकाले यसपटक विद्यार्थीको घर–घरमा नै पुगेर अभिभावकहरूसँग अन्तर्क्रिया गरिएको विव्यस अध्यक्ष गुरुङको भनाइ छ । भोटखोला त्यत्तिकै दूरदराज र विकट क्षेत्र भएकाले विद्यार्थीका अभिभावकहरूसमेत छोराछोरीलाई विद्यालय पठाए भइहाल्छ नि भनेर सोच्ने भएकाले अलि जिम्मेवार बनाउन घरदैलो अभियान सञ्चालन गरेको गुरुङले बताए ।
‘भोटखोलाका मानिस अधिकाशंले मुआब्जा पाउनुभएको छ, अलैँचीबाट पनि आम्दानी छ, तर पैसा भएर पनि शिक्षामा लगानी गर्न नजान्दा पिछडिएको महसुस भएकाले घरदैलो अभियान सञ्चालन गरिएको हो । अब आफ्ना छोराछोरीको पढाइबारे अलि चिन्तित भएर जिम्मेवार बन्न अनुरोध गरेका छौँ, शिक्षामा लगानी भोलिको सुन्दर भविष्य हो भनेर अभिभावकलाई सम्झाउँदै छौँ, विद्यालयमा शिक्षकले पढाएर मात्रै हुँदैन, घरमा बाबुआमाले पनि छोराछोरीको पढाइमा सहयोग गर्नुपर्छ भन्ने विद्यालयको उद्देश्य हो,’ अध्यक्ष गुरुङले भने ।
गाउँ–गाउँमा घरदैलो अभियानपछि विद्यालयमा अभिभावक, विद्यार्थी, सरोकारवाला र जनप्रतिनिधिहरू सबैलाई बोलाएर शैक्षिक गुणस्तर वृद्धि गर्न के–के गर्नपर्छ भनेर अन्तर्क्रिया गर्ने तयारीमा रहेको विद्यालयको प्रधानाध्यापक निङतेम्बा शेर्पाले बताए । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न हरतरह र जोडबल गरिरहेको उनको भनाइ छ ।