सगरमाथा स्विमिङ क्लब बन्यो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पिनसिप

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पिनसिप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ। नेपालगन्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो। नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए। 

प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो। बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो भएको छ। 

सगरमाथा स्विमिङ क्लबका अरेके कर्माचार्य एक्लैले सातवटा स्वर्ण र रिजा अवालेले पाँच पदक जितेका थिए । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भए। उनीहरूलाई जनही पाँच-पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो ।  

आयोजक नेपालगन्ज स्विमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सकेकाले आगामी दिनमा अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने ऊर्जा मिलेको बताए। उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्लगायत तीन तहकै सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । क्लबले आगामी दिनमा स्थानीयस्तरमा पौडी प्राविधिक उत्पादन गरेर खेलको विकासमा टेवा पुर्याउने बताए। 

राष्ट्रिय पौडीका पदक विजेतालाई पौडी पोखरीमा निःशुल्क 
नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरी दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पिनसिप २०२५ का पदक विजेता खेलाडीका लागि निःशुल्क हुने भएको छ। 

नेपाल पौडी संघ, नेपालगन्ज स्विमिङ क्लबका पदाधिकारी र सदस्यहरूबिचको छलफलका क्रममा मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यस क्षेत्रमा पौडी खेलको विकासका लागि पदकधारी खेलाडीलाई पोखरी निःशुल्क रूपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन्। उनले नेपालगन्जमा रहेको पौडी पोखरीबाट खेलाडीहरूले बढीभन्दा बढी फाइदा लिनका लागि आफूले सहयोग गर्ने बताए। 

सुझावित समाचार