२३ र २४ भदौको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले आज सहिद घोषणाको तयारी गरेको छ । आज ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा सहिद घोषणा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकारीले बताए।
गृह मन्त्रालयले छानबिन गरी ४५ जनालाई सहिद घोषणा गर्न सिफारिस गरिसकेको छ। सो आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। तर, कतिपयको शव अझै सनाखत हुन सकेको छैन।
आन्दोलनमा मृत्यु हुनेमध्ये १० जना जेलबाट भाग्न खोज्ने कैदीबन्दी थिए। उनीहरूको नाम सहिदको सूचीमा सिफारिस छैन। आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ। आन्दोलनमा तीन प्रहरीले पनि ज्यान गुमाएका थिए।
यसअघि नै सरकारले सहिद घोषणा गर्ने नीतिगत निर्णय गरे पनि औपचारिक रूपमा निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न लागिएको हो।
२३ भदौमा भ्रष्टाचारविरुद्ध बानेश्वरमा भएको आन्दोलनमा गोली लागेर २३ जनाले ज्यान गुमाएका थिए। त्यसको विरोधमा भोलिपल्ट देशव्यापी रूपमा नागरिकहरू सडकमा उत्रिएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्थ भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी चुनावको घोषणा गरिएको छ। सरकारले आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने घोषणा गरिसकेको छ। यद्यपि, कुन ठाउँमा बनाउने भन्ने अझै तय भइसकेको छैन।